सडकमा अलपत्र पैदलयात्रीको उद्धार गर्दै बलेफी

0
Shares

नानीराम नेपाल,सिन्धुपाल्चोक ।

अरनिको राजमार्गको बलेफी खण्डमा अलपत्र परेका मजदुहरुलाई बलेफी गाउँपालिकाले उद्धार गरि काठमाडौं पठाएको छ । ज्यालादारी मजदुरीका सिलसिलामा विगत केहि महिनादेखि दोलखामा रहेका उनीहरु घर फर्कँदै गर्दा बलेफीमा अलपत्र परेपछि सोमबार बलेफी गाउँपालिकाका अध्यक्ष केदार क्षेत्रीले बस रिजर्भ गरेरै उनीहरुलाई काठमाडौं पठाउँनुभएको हो।

लकडाउनका कारण बलेफी बजारमा अलपत्र अवस्थामा भेटिएका रुकुमका १२ र सल्यानका ३ जना गरि १५ मजदुरहरुलाई यातायातको व्यवस्था गरि काठमाडौं सम्म पठाइएको बलेफी गाउँपालिकाका अध्यक्ष केदार क्षेत्रीले बताउनुभयो ।

दोलखादेखी पोका पन्तरा बोकेर पैदल हिँडेर बलेफी आइपुगेका उनीहरुको अवस्था दयनिय देखिएपछि तत्काल बस खोजेर काठमाडौं पठाइएको हो । लकडाउनको मारमा परेर सास्ती खेपिरहेकाहरुलाई दैनिकजसो यातायातको व्यवस्था गरि सहजीकरण गरिरहेका छौं, अध्यक्ष क्षेत्रीले भन्नुभयो । बलेफी गाउँपालिकाले केहि दिनयता राजमार्गमा अलपत्र ५० भन्दा बढि पैदलयात्रीको उद्धार गरि काठमाडौं पठाइदिएको छ । आइतबार १४ जना पैदलयात्रीलाई नायायणगढसम्म पठाइएको छ ।

दोलखादेखी घण्टौं पैदल हिँडेर सोमबार मध्यान्हमा बलेफी बजार टेकेका चौरजहारी नगरपालिका ८, रुकुमका ईन्द्रबहादुर बिकले काठमाडौंसम्म यातायातको व्यवस्था भएपछि राहतको सास फेरे । थकित मुद्रामा बलेफी गाउँपालिकाको कार्यालय अगाडी सडकपेटीमा पल्टिरहेका सल्यानका बिशाल सार्कीको मुहारमा पनि उस्तैखुसी झल्किन्थ्यो ।

आपतमा बलेफी गाउँपालिकाले गरेको यो सहयोग कहिल्यै भुल्नेछैनौं, बलेफी गाउँपालिकाले काठमाडौंसम्म यातायात व्यवस्था गरिदिएपछि उनले खुसी ब्यक्त गरे । इन्द्रबहादुर र बिशालसहित रुकुम चौरजहारीका बीरबहादुर कामी रविन रसायली, सुरेन्द्र रसायली, तुले सार्की, सन्तोष सार्की, सुनिल परियार, काले सार्की, रमेश सार्की, शिवबहादुर सार्की, तोपबहादुर सार्की र सल्यान कोमकका रेशम बिक र रतन बिकलाई उद्धार गरि काठमाडौं पठाइएको हो । गाउँपालिकाभित्र मजदुरी गर्दै आएकाहरुलाई बलेफी गाउँपालिकाले अत्यावस्यक खाद्यान्न समेत प्रदान गरिरहेको छ ।