लकडाउनको मौका पारेर वन अपराध, दैनिकरुपमा हुने तस्करीको घटनाले विज्ञ चिन्तित



सुरेश तामाङ, काठमाडौं

महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसको संक्रमणबाट जोगिन आ–आफ्ना नागरिकलाई घरबाट ननिस्कन आह्वान गर्दै विश्वभरका मुलुकले बन्दाबन्दी अर्थात् लकडाउनको नीति अपनाएका छन् ।

नेपालले पनि यस्तै नीति अपनाउँदै अत्यावश्यक सेवाबाहेकलाई घरबाट निस्केर हिँडडुल र सवारीसाधानलाई रोक लगाएको छ । अत्यावश्यकबाहेक सरकारी कार्यालयसमेत ठप्प छ । नागरिक पनि घरमै बसेर सरकारको नीतिलाई सहयोग गरिरहेका छन् ।

तर यही मौकाको फाइदा उठाउँदै हुने गरेको वन र वन्यजन्तुको तस्करीका घटनाले भने सबैलाई चिन्तित बनाइरहेको छ । लडकडाउनको समयमा एकपछि अर्काे गर्दै शृंखलाबद्धरुपमा भइरहेको यस्ता घटनाले निरन्तरता पाइरहेको छ ।

लडकडाउनलाई तस्करहरुले अवसरका रुपमा लिएकाले यस्ता घटना घट्नुको सट्टा दिनानुदिन बढिरहेको छ । यस्तो घटनाले झस्काएको भन्दै वन विज्ञहरुले पनि चिन्ता व्यक्त गरेका छन् ।

‘कोरोनाको विपद्ले गर्दा सारा सुरक्षा बजार र शहर केन्द्रित हुनुपरेको छ । रोगको संक्रमणबाट बच्न सबै घरघरमा बस्नुपरेकोलाई तस्करले अवसरका रुपमा लिएका छन्।’ –वन विज्ञ डा. नया शर्मा पौडेलले चिन्ता व्यक्ति गर्दै भन्नुभयो ।

उहाँले यस समय वन्यजन्तुको चोरी शिकारी, जडिबुटी, साललगायत काठको अवैध चोरी निकासी बढ्दो क्रममा रहेको बताउनुभयो । लकडाउनको बेलामा सबैको काम गर्ने ठाउँ बन्द हुने भएकाले सजिलो तरिकाले आम्दानी गर्ने उद्देश्यले अवैधरुपमा वन तथा वन्यजन्तुको चोरी शिकारी हुने गरेको बताउनुभयो ।

‘समुदायबाटै वन जोगाउनुपर्छ । त्यहाँ रहेका वन्यजन्तु बचाउनुपर्छ भनेर संरक्षण गरेको वनक्षेत्रमा यस्तो कम देखिन्छ । तर समुदायको अपनत्व नभएको वन क्षेत्रहरु राष्ट्रिय वन क्षेत्रमा भने वन तथा वन्यजन्तुको हानि गर्ने क्रम बढ्ने गरेको छ।’ –उहाँले भन्नुभयो ।

स्थानीयको अपनत्व नभएको वन क्षेत्रमा अवैध क्रियाकलाप भइरहेको थाहा पाए पनि वास्त नगर्ने परिपाटीले गर्दा पनि तस्करलाई अवसर हुने गरेको उहाँको भनाइ रहेको छ । समुदायलाई जिम्मेवार बनाई उनीहरुकै संलग्नतामा वन व्यवस्थापन गराउन सके यस्ता घटनामा कमी आउन सक्ने उहाँको दाबी छ ।

लकडाउनको समयमा दैनिकरुपमा अवैध काठ बरामद भएको, तस्कर र सुरक्षाकर्मीको मुठभेड भएकोलगायतको घटना छन् । लकडाउनकै अवधिमा गएको चैत १४ मा शिकारी र गस्ती टोलीबीच मुठभेड भएको थियो ।

पर्सा राष्ट्रिय निकुञ्जको गस्तीमा रहेको नेपाली सेना टोली र चोरी सिकारी समूहबीच निकुञ्जभित्र भएको गोली हानाहानमा एक सिकारीको मृत्यु भएको थियो भने एक पक्राउ परे ।

यस्तै चैत २१ मा पनि सिकारी र गस्ती टोलीबीच मुठभेड भएको थियो, जसमा डिभिजन वन कार्यालय मोरङको गस्ती टोलीले राष्ट्रिय वनमा मृग र बँदेल मार्न गएका सिकारी समूहबाट दुई थान बन्दुकसहित दुई जनालाई पक्राउ गरेको थियो ।

चैत २७ मा बर्दिया राष्ट्रिय निकुञ्जभित्र वन्यजन्तु चोरी सिकार गर्ने क्रममा दुई सिकारीलाई भरुवा बन्दुकसहित पक्राउ गरेको थियो भने चैत २९ गते कोसी टप्पु वन्यजन्तु आरक्षमा मारेको हरिणसहित दुई जनालाई पक्राउ गरेको थियो ।

यसबीचमा सालको काठहरु पनि विभिन्न जिल्लामा बरामद गरिएको छ । दैनिकरुपमा यस्तै घटना दोहोरिएपछि वन तथा वातावरण मन्त्रालयले वन तथा वन्यजन्तुको थप हानिनोक्सानी हुन नदिन सबै प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमार्फत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसँग अपिलसमेत गरेको छ ।

मन्त्रालयका सहसचिव डा. सिन्धुप्रसाद ढुंगानाले यस्ता घटनाको रोकथामका लागि अग्रपंक्तिमा बसेर प्रदेश सरकारले गर्ने भएकाले त्यहीअनुसार मन्त्रालय लागिरहेको जानकारी दिनुभयो ।

केही जिल्लामा लकडाउनको मौका छोपेर वन र वन्यजन्तु तस्करका घटनाहरु घटेको पाइएको र त्यसमा मन्त्रिस्तरीय बैठक बसी वन तथा वन्यजन्तुको थप हानिनोक्सानी हुन नदिन सबै प्रदेश सरकार र निकुञ्जलगायतलाई निर्देशन दिइसकेको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो– ‘मन्त्रालय वन र वन्यजन्तुको संरक्षण र व्यवस्थापन गर्न योजनाबद्ध ढंगले लाग्ने गर्दछ । मुख्यतया यसमा फ्रन्टलाइनमा बसेर प्रदेश सरकारले गर्ने हो । त्यसका लागि मन्त्रालयले विशेष निर्देशनसमेत दिइसकेको छ ।’

 

प्रतिक्रिया दिनुहोस्