कृषि उत्पादनलाई प्रोत्साहन गरिने

0
Shares

न्युज अफ नेपाल,हेटौंडा ।

प्रदेश कोभिड संकट व्यबस्थापन समिति बागमतीले कृषि उत्पादनलाई प्रोत्साहन गर्ने निर्णय गरेको छ । समिति अध्यक्ष एवम् प्रदेशका मुख्यमन्त्रीको अध्यक्षतामा बसेको बैठकले भौतिक दुरी कायम गरी कृषि उत्पादनका लागि चाहिने मल, बिउ बिजन उपलब्ध गराउने निर्णय गरेको हो ।विदेशबाट आएका एवम् प्रभावित व्यक्तिको खोजी गरी ¥यापिड डायोग्नोष्टिक टेष्ट र आवश्यक परे पीसीआर टेष्ट गर्ने निर्णय भएको छ ।

केही स्थानमा राहत बितरणमा एकद्वार नीति अवलम्बन गरेको नपाइएकोले संघीय सरकारको निर्देशनअनुसार कडाइका साथ एकद्वार प्रणालीबाट राहत बितरण गर्नुपर्ने निर्णय पनि भएको छ ।प्रदेशमा अलपत्र परेकाको उचित व्यबस्थापनका लागि आबश्यकताअनुसार काम गर्ने, जिल्लामा भएका एम्बुलेन्सलाई कमाण्ड पोष्टमार्फत् व्यबस्थापन गरी सञ्चालन गर्ने, एम्बुलेन्स सञ्चालन गर्न अटेर गर्ने संस्था र चालकलाई कारबाही गर्ने निर्णय भएको आर्थिक मामिला तथा योजना मन्त्री कैलाशप्रसाद ढुंगेलले जानकारी दिनुभयो ।

स्वास्थ्य क्षेत्रका जनशक्ति अभाव रहेकोले संघीय सरकारसँग माग गर्ने निर्णय पनि गरिएको छ । लकडाउनको समयमा अवाञ्छित क्रियाकलाप गर्नेलाई कारबाही गर्ने र त्यस्ता क्रियाकलापलाई निरुत्साहित गर्न स्थानीय तहलाई निर्देशन गर्ने निर्णय भएको मन्त्री ढुंगेलले बताउनुभयो ।

बैठकमा मुख्यमन्त्री पौडेलले लकडाउनका कारण कृषि उत्पादनमा असर परेकोले यसको समन्वय स्थानीय तहले गर्ने बताउनुभयो । मुख्यमन्त्री पौडेलले आवश्यक सुरक्षा अपनाएर निर्वाधरुपमा खेतीपाती गर्न किसानलाई अनुरोध गरेर उत्पादनमा लाग्न प्रेरित गरिनुपर्ने बताउनुभयो । उहाँले पालिकाहरुलाई सावधानी अपनाएर र दुरी व्यबस्थापन गरेर गर्न सकिने कामहरु गराउन लगाउनेतर्फ सोच्नुपर्ने उल्लेख गर्नुभयो ।

खेतीपातीको मौसम शुरु भएको भन्दै मुख्यमन्त्री पौडेलले भन्नुभयो–कतिपय व्यक्तिहरु वर्षभर शहर पसेर काम गर्ने तर खेतीपाती लगाउने सिजनमा घरमा आउने र बाली थन्क्याएर फेरि शहर पस्नेहरु रहेको र उनीहरु हाल अलपत्र भएकोले व्यबस्थापन हुनु आवश्यक छ ।लकडाउन प्रभावकारी बनाउन सुरक्षा संयन्त्र एवम् स्थानीय तह सक्रिय हुनुपर्ने उहाँको भनाइ थियो । अहिलेको सयमयमा सुरक्षाकर्मी, स्वास्थ्यकर्मी र स्थानीय तहले लकडाउनको समयमा योगदान गरिरहेको बताउनुभयो ।