हावाहुरीले घर भत्कँदा ३ जना घाइते

0
Shares

रोशन पराजुली,हेटौंडा ।

कोरोना कहरको त्रासका बीचमा पश्चिम मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर–५ मा शुक्रबार हावाहुरीसहित असिना पानीले बितण्डा मच्चाएको छ ।
वडाको रुन्चेडाँडा, वसन्तपुर, डिल्लीपुर, दर्दरालगायत क्षेत्रमा असिना पानीसहित हावाहुरीले तरकारी तथा अन्न बालीमा समेत क्षति पु¥याएको हो ।

हावाहुरीले घर भत्कँदा ३ जना घाइते भएका छन् । तीमध्ये एक जनाको कुम भाँच्चिएकोले उपचारका लागि भरतपुर अस्पताल पठाइएको गाउँपालिका उपाध्यक्ष मनिला बिष्टले जानकारी दिनुभयो । अन्य सामान्य घाइतेको स्थानीय स्वास्थ्य एकाईं र मनहरी प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार गरिएको छ ।

गाउँका दर्जन बढी घरको छाना उडाएको छ भने त्यहाँका बिजुलीका पोलहरु भाँच्चिएका छन् । उक्त स्थानमा विद्युत् सेवा अवरुद्ध छ । गाउँका कुखुरा फर्ममा हावाहुरीको असर परेका छ । त्यहाँका कतिपय कुखुरा फर्मका कुखुरा मरेका छन् भने जंगली चराचुरुंगीसमेत मरेको वडाध्यक्ष शुभराज थिङले बताउनुभयो ।

हावाहुरीसहितको असिनापानीले वडामा कृषि, पशुधन तथा भौतिक क्षति गरेको छ । दर्जनौं घर भत्केका छन् र जस्तापाता उडेको छ । गाउँपालिका अध्यक्ष एकराज उप्रेतीका अनुसार अधिकांशका घरका छानाहरु उडाएका छन् ।

हावाहुरीका कारण सयौं बिगाहको मकै खेती नष्ट भएको छ भने करिब ५ हजार कुखुराका चल्ला नष्ट भएका छन् । एउटा भैंसी मरेको छ । तरकारी तथा केरा खेती पूर्णरुपमा क्षति भएको वडाअध्यक्ष थिङले जानकारी दिनुभयो ।हावाहुरीसँगै चट्याङले राक्सिराङ गाउँपालिका वडा–२ मा तीन जना घाइते भएको गाउँपालिका अध्यक्ष राजकुुमार मल्लले जानकारी दिनुभएको छ ।