विश्व स्वास्थ्य संगठनले जनवरी २० मा सचेत गराएजस्तै मार्चसम्म आइपुग्दा कोरोना भाइरसले महामारीको जटिल अवस्था ग्रहण गरिसकेको छ । संसारका शक्तिशाली मानिएका देशहरु समेत लडखडाउन थालेका छन् । हताहत हुनेको संख्या नै डेढ लाख नजिक पुगिसकेको छभने प्रभावितको संख्या डरलाग्दो बनेको छ ।
यस महामारीको अवस्थामा धेरैतिर निराशाका बोलीहरु सुनिन्छन्, तर यसरी निराश नै हुनुपर्ने अवस्था हो त ? यस आलेखमा महामारीका बहुपक्षीय असर र प्रभावका बारेमा चिरफार गर्ने प्रयास गरेकी छु ।
सरकारले समयमै बन्दाबन्दीको घोषणा र बहुसंख्यक नागरिकद्वारा त्यसको पालना गर्ने काम भएको छ । हाम्रो आफ्नै खानपान शैली, बि.सी.जी. खोपको प्रभाव, अझै सम्पूर्ण रुपले ध्वस्त नभैसकेको हाम्रो प्रकृति एवं मौलिक संस्कार, मिलिजुली बस्ने प्रवृत्ति आदिका कारण हामी अहिलेसम्म ठिकै छौं ।
हामी आफैले अनुमान गरेजस्तो नराम्रो स्थितिमा पनि पुगेका छैनौं । तर, उच्च सतर्कताको निरन्तरता भने आवश्यक छ । यस्तो बेला देश र देशवासीलाई जोगाउन सके पुनर्निर्माणका लागि यो सबभन्दा ठूलो अवसर हुनेछ । राहत वितरण र सामाजिक दुरी व्यवस्थापन अहिले सर्वाधिक सुनिने प्रसंग हुन् ।
भौतिक दुरीका लागि प्रयोग भएको सामाजिक दुरी शब्दावलीसँग भने मेरो आपत्ति छ । यसबेला हामीलाई सबभन्दा बढी सामाजिक सामीप्य चाहिएको छ, दुरी होइन । हाम्रोजस्तो देश जहाँ मानिसलाइ जात, धर्म, लिङ्ग, वर्गका आधारमा छुट्याउने चलनले दह्रो जरा गाडेको छ, त्यहाँका नागरिकलाई सामाजिक दुरीको पीडा थाहा छ ।
सामाजिक दुरी शब्दावलीले हामीलाई मानिस–मानिसबीचको पीडापूर्ण विभेदको स्मरण गराउँछ । उपनिवेशवादी शक्तिले सुरु गरेको मानव समुदायबीचको विखण्डनको घाउ बल्झाउँछ । यसको सबभन्दा पछिल्लो उदाहरणको रुपमा दक्षिण अफ्रिकामा काला जातिका व्यक्तिहरुलाई सामाजिक दुरी कायम गराउने भन्दै सार्वजनिक स्थलहरुमा प्रवेश निषेध गरिएको थियो ।
हाम्रो देशमा संविधान र कानुनको प्रावधानलाई मिच्दै दलित भनेर एउटा सिंगो समूहलाई नै सामाजिक विभेद गरिएको छ । तथाकथित उच्च जातकाहरुले दलितसँग सामाजिक दुरी बनाउने प्रयास गरिरहेका हुन्छन् । त्यसैले अहिले कोरोना संक्रमणका बेला हामीले चाहेको सामाजिक दुरी नभई, शारीरिक दुरी हो । सामाजिक दुरी त यस्तो बेला हटाउनुपर्छ, सामाजिक ऐक्यबद्धता अभिवृद्धि गर्नुपर्छ ।
यसो गरे मात्र यस संक्रममाथि विजय हासिल गर्नसकिनेछ । कोरोनाको कहरभित्र धेरै छलफलमा न आएको तर हरेक व्यक्तिलाई अहिले पनि प्रभावित गरिरहेको अनि धेरै लामो समयसम्म प्रभावित गर्ने विषय हो ‘मानसिक स्वास्थ्य’ ।
यसका लागि त झन सामाजिक सामीप्य औषधि नै सावित हुन्छ । हाम्रोजस्तो देश जुन लामो समयदेखि द्वन्दको चपेटामा प¥यो, त्यसपछि ठूलो विनाशकारी भूकम्पले थिलथिलायो, बर्सेनी हजारौंको संख्यामा विभिन्न खाले हिंसाबाट महिलाहरु प्रभावित हुने स्थिति, दलित जातका कारणले विभेदित छन्, गरिब वर्गका कारण त्यसै पनि मानसिक स्वास्थ्यको स्थिति बलियो छैन ।
मानसिक स्वास्थ्यसम्बन्धी काठमाडौं उपत्यकामा गरिएको पहिलो इपिड़ेमिओलोजिकल सर्वेक्षण (१८८४) अनुसार १४ प्रतिशत मानिस यसबाट प्रभावित छन् । त्यसैगरी सरकारद्वारा २०१४–२०२० मा नसर्ने रोगहरुको नियन्त्रण र बचावटका लागि बनाइएको बहुपक्षीय कार्य योजनाले कुल रोगको भारमध्ये मानसिक स्वास्थ्यको भार १८ प्रतिशत रहेको अनुमान गरेको छ । हिंसा प्रभावित महिलाको स्वास्थ्य स्थिति हेर्दा करिब ८० प्रतिशत प्रभावितहरु मानसिक समस्याबाट पनि प्रभावित छन् (ओरेक) । देशमा आत्महत्याको दर बढ्दो छ, मानसिक अस्पतालमा बिरामीको संख्या बढ्दो छ ।
त्यसैगरी मानसिक स्वास्थ्य विशेषज्ञहरु क्लिनिकमा पहिलेभन्दा बढी मानसिक स्वास्थ्य समस्या भएका व्यक्तिहरु आउँछन् भन्ने बताउँछन् । यस्ता समस्याहरु सामान्य रुपमा बाहिर आउन्नन्, निकै च्यापेपछि मात्र मानिस बाहिर देखिन्छ । तर, बाहिर देखिए वा नदेखिए पनि मानिसको शारीरिक स्वास्थ्य, उत्पादकत्व, व्यक्तित्व विकासदेखि देशको सामाजिक र आर्थिक स्वास्थ्यलाई समेत यसले प्रभावित पारिरहेको हुन्छ । सामाजिक सामीप्य बढाइयो भने नै यस्ता समस्याको सम्बोधन हुन्छ ।
अहिलेको स्थिति
कोरोना कहरका कारण अहिले हामी कसरी सुरक्षित रहने र आधारभूत आवश्यकता कसरी पूर्ति गर्ने भन्नेतिर बढी केन्द्रित छौं, त्यो स्वाभाविक पनि हो । अहिले पनि दिनकै सयौं मानिस लस्करै पैदल हिडेर आफ्नो गन्तब्यतिर गइरहेका छन्– खाई नखाई तातो घाममा जुत्तासम्म नलगाई, पोको बोकेर ।
त्यस्ता चित्रहरु सामाजिक सञ्जालमा सार्वजनिक भैरहेका छन् । त्यसैगरी, हजारौंको संख्यामा नेपालीहरु सात समुद्रपारदेखि दशगजापारि सिमानामा विभिन्न कस्ट सहेर घर आउँन छटपटाइरहेका छन् । सामाजिक दुरीका नाममा बुढाबुढी आमाबुवाहरु आफ्ना सन्तानलाई महिनौंदेखि हुनेले सामाजिक सञ्जालमा अनुहार हेरेर चित्त बुझाइरहेका छन् भने नहुनेले आवाज सुनेर आँसु झार्दै सामीप्यको अनुभूति गरिरहेका छन् ।
नेपालमै रहेका छोराछोरीहरु पहिला आमाबुवालाई हप्ता दिनमा एकदिन मात्र भएपनि गएर सघाउने गरेको देखिन्थ्यो, तर अहिले त्यो बन्द छ । घरमा सघाउने मानिस आउन मिल्दैन । यतिखेर त्यस्ता ज्येष्ट नागरिकलाई शारीरिक रुपमा त कष्ट भएको छ नै तर तिनको मानसिक कष्टको लेखाजोखा छैन, धेरैका सन्तान विदेशमा छन्, विदेशमा कोरोनाको त्रास यहाँभन्दा बढी छ भन्ने जानकारी सञ्चार मध्यमले दिइरहेका छन्, यसले उनीहरुको मानसिक स्वास्थ्यमा गहिरो असर पारेको छ, युवाहरु कामबाट निस्केर घरमा बसेका छन्, कतिलाई क्वÞारेनटाइनमा राखिएको छ, उनीहरु अज्ञात भयमा छन् ।
हरेक व्यक्ति मानसिक तबाबमा छन्– मात्रा बढी र घटी मात्र हो । तर, यस पक्षमा हामी अझै संवेदनशील हुन सकेका छैनौं, घरभित्र धेरै महिलाहरु बढ्दो घरेलु हिंसा खपेर बाँच्न बाध्य छन्, बालबालिकाको भविष्य अन्योलग्रस्त छ, यस अवस्थामा पर्ने मानसिक असरको हामीले लेखाजोखा गर्न भ्याएकै छैनौं । किसान, व्यापारी सबै अब के हुने हो भन्ने चिन्तामा छन्, सरकार चलाउनेहरुमा त्यतिकै मानसिक अशान्ति छ ।
यस्ता धेरै अवस्थाहरु छन् जहाँ मानिसलाई देखिएको बाहिरी समस्याभन्दा नदेखिने मानसिक चिन्ता वा समस्या गहिरो छ ।मानसिक समस्याका परिणामहरु प्रकट हुन थालिसकेका छन् । डिउटीमा रहेको पुलिसले डाक्टर कुट्यो, खेतमा तयार बालीमा आगो लगाइयो भन्नेजस्ता समाचार सुनिन्छ । सरकार चलाउने उच्च ओहोदामा बसेका व्यक्तिले आफ्नो मर्यादाभन्दा बाहिर गएर बोलेको पनि देखिन्छ ।
महिला हिंसा बढ्दो छ भन्ने जानकारी पनि मिडियाले बाहिर ल्याएका छन् । हामी दिक्क हुन्छौं, अनि गाली गर्न थाल्छौं, अन्त कहिं नभएपनि हाम्रो फेसबुकमा पीडा पोख्छौं, घृणा फैलाउँदै, हेक्कै नराखी त्यसबाट फेरि त्यही घृणा जन्मिन्छ भन्ने सत्य बुझ्दैनौं । भारतीय मनोचिकित्सक समाजले भर्खरै सार्वजनिक गरेको अध्ययनले बन्दाबन्दी सुरु भएदेखि अहिले मानसिक समस्या करिब २० प्रतिशतले बढेको तथ्यांक सार्वजनिक गरेका छन् । त्यस्तैगरी नेपालमा सेयरकास्ट भन्ने संस्थाद्वारा गरिएको सर्वेक्षणले करिब ४० प्रतिशत मानिसमा मानसिक स्वास्थ्य समस्या छ ।
तर यो तथ्यांकभन्दा धेरै बढी मानिसले आफ्नो परिवारिक जीवनमा भोगेका भोगाइहरुबाट परिवारभित्र, समाजमा, देशभरि नै अहिलेको स्थितिमा मानसिक स्वास्थ्यको स्थिति भयाबह रहेको छ । अहिले सरकारले आफ्नो बलबुतो लगाएर हाम्रो शारीरिक स्वास्थ्य ठिक राख्न प्रयत्न गरिरहेको छ । स्वास्थ्य व्यवहारलाई सुद्रिढ बनाउन प्रोत्साहित गरिरहेको छ । यो निश्चय पनि राम्रो कुरा हो तर अहिले नै यसमा मानसिक स्वास्थ्य समस्यालाई सम्बोधन गर्ने तत्व नथप्ने हो भने हामी कोरोना कहरबाट बाहिर त आउँला तर निराशा, नकारात्मकता, हिंसाबाट संक्रमित मानसिकता भएका व्यक्ति र समाजको कहरमा लामो समयसम्म रहने छौं ।
केही सुझाव
१. कुनै पनि महामारीमा सरकारको पहिलो दायित्व नागरिकलाई महामारीबाट सुरक्षित गर्नु नै होे, सबैको गास–बासको व्यवस्था कसरी गर्ने भन्ने नै हो । हाम्रो सरकारले अहिले त्यो गरिरहेको छ, स्थानीय तहदेखि भएका प्रयास संतोषजनक छन् ।
अब यसमा अलिकति सचेत हुँदै, होश पु¥याएर काम गर्नेहो भने सबै क्वारेन्टाइन शिविमा मनोविमर्शको सहयोग थप्न सकिन्छ । हामीकहाँ पर्याप्त मात्रामा तालिम प्राप्त मनोविमर्शकर्ता छैनन्, त्यसैले मनोविज्ञान प्रारम्भिक उपचारबारे त्यहाँ खटिने स्वास्थ्यकर्मी एवं स्वमसेवकलाई तालिम दिन जरुरी छ । व्यवस्था हुनसक्ने ठाउँमा कम्तिमा एउटा क्वारेन्टाइन स्थलमा एउटा तालिम प्राप्त मनोविमर्शकर्ताको व्यवस्था गर्नु आवश्यक छ ।
२. ‘माइण्डफुलनेस’ अहिले संसारभर नै चर्चित मानसिक स्वास्थ्यलाई ठिक राख्न प्रयोग गरिने एक विधि हो, हाम्रो पूर्वीय दर्शनमा यो पहिले देखि नै प्रचलित छ । भगवान शिवले दिनुभएका ध्यानका सूत्रहरु हुन् वा महर्षि पतंजलीले भन्नुभएको यम, नियम, आसन, प्राणायाम, प्रत्याहार, धारणा, ध्यान समाधिका सूत्र हुन् सबैले प्रवर्धन गर्ने भनेकै मनको पार जानसक्ने स्थितिको सिर्जना गर्नु हो ।
त्यसैगरी बुद्धले दिनुभएको अनापान सती योग र विपस्यना, एवं ओशोले अघिसारेको अहिलेको मनुष्यको दमित भावना विसर्जित गर्दै अबलम्बन गर्न सकिने सक्रिय ध्यानपछिको विपस्यनाका पद्दतिहरु हुन् यी सबले हाम्रो मानसिक स्वास्थ्य सबल बनाउन सहयोग गर्छ । संचार माध्यमबाट यसबारे जानकारी दिंदै, देशमा आश्रमहरु स्थापित गरी यिनै विधाहरु सिकाउदै आएका साधकहरुसँग सहयोग लिन सकिन्छ ।
बन्दाबन्दी सकिएपछि विभिन्न संघ–संस्था, सरकारी निकाय, परिवारका सदस्यहरुले एकपटक आफ्नो मानसिक स्वास्थ्यका लागि यस्ता शिविरहरुमा भाग लिने अनि नियमित आफूले पालना गर्ने गर्नसकिन्छ ।
३. बिहान उठेदेखि नै कोरोनाले अब के गर्ला ? जीवन कसरी अघिबढ्ला भन्ने चिन्ता नगरी यो अवस्थालाई अवसरमा बदलेर हामी अझ स्वस्थ्य र समृद्ध कसरी हुनसक्छौं भन्नेतर्फ सिर्जनशील चिन्तन गर्ने ्अहिले बन्दा बन्दिको बेला सामाजिक संजालले अत्यन्तै महत्व राख्दछ, त्यसैले यस्ता सकारात्मक कुराहरु सामाजिक संजालमार्फत प्रबर्धन गर्ने ।
४ सरकारले दिने सूचनाहरुमा पनि कति जना संक्रमित भए भन्ने एकतर्फी शारीरिक स्वास्थ्यको सूचना मात्रै नदिई सरकारले कृषि क्षेत्रमा के गर्दैछ, महिला बालबालिका ज्येष्ट नागरिक, अपाङ्गता भएका व्यक्तिहरुका लागि के–कस्ता प्रावधानहरु छन्, मजदूरहरुका लागि के–कस्ता प्रावधानहरु छन् भन्नेजस्ता आवश्यक जानकारीहरु नियमित दिने ।
५. सञ्चार माध्यमहरुबाट सकेसम्म नकारात्मक कुराहरु प्रचार नगर्ने ।
६. हेरक व्यक्तिले नियमित रुपमा ध्यान र व्यायाम गर्ने, आफ्नो खानपानलाई सन्तुलित राख्ने ।
७.अहिलेको महामारीको संकटपूर्ण अवस्था सकिएपछि सरकारद्वारा मानसिक स्वास्थ्यलाई एउटा अभियानकै रुपमा देशभरि लिएर जाने । ध्यान, योगहरुलाई व्यापक प्रचार–प्रसार गर्ने । मानसिक स्वास्थ्यलाई हामीले दिने आधारभूत स्वास्थ्य सेवाको एउटा बलियो पाटोको रुपमा राख्दै समुदाय तहदेखि नै प्रबर्धन गर्ने ।
८. मानसिक स्वास्थ्य समस्या भएकाहरुको उचित निदान र उपचारको व्यवस्था मिलाउने ।अन्त्यमा, यी माथि लेखिएका केही अत्यावश्यक तत्वहरु मात्र हुन्, मानसिक स्वास्थ्य सबल बनाउन हरेक व्यक्तिको आफ्नो मौलिक प्रयास हुनु जरुरी छ ।
उक्त प्रयासलाई सरकारी सूचना, तालिम अनि सहयोगबाट प्रस्फुटित गर्न सकिन्छ । त्यसैले यो कोरोना महामारीबाट परिरहेको अनि पर्नसक्ने दूरगामी प्रभावबाट बच्न अहिलेदेखि नै काम सुरु गरौं, मानसिक स्वास्थ्य ठिक नभएको स्थितिमा कुनै पनि देशको न त आर्थिक स्वास्थ्य ठिक हुन्छ न त शारीरिक र सामाजिक नै । मानसिक स्वास्थ्य ठीक पार्नका लागि सामाजिक सामीप्य आवश्यक छ भन्ने नबिर्सौं ।
प्रतिक्रिया