प्रदेश १ सरकारले १० वटा शीर्षकमा ५ अर्ब बजेट खर्च नगर्ने

0
Shares

सरोज यादव,विराटनगर ।

प्रदेश १ सरकारले विभिन्न १० वटा शीर्षकमा रहेको ५ अर्ब बजेट खर्च गर्न रोक लगाएको छ । आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोका अनुसार भ्रमण, अध्ययन भ्रमण, अनुगमन, सेवा परामर्श, कम्प्यूटर, सवारीसाधन र फर्निचरलगायतका शिर्षकमा छुट्याएको बजेट खर्च गर्न रोक लगाएको हो ।

चालु आर्थिक वर्षको बजेटमा ती शिर्षकमा करिब ५ अर्ब बजेट रहेकोमा केही मात्र खर्च भएको र बाँकी रकम तत्काल नगर्ने निर्णय गरेको हो । कोरोना भाइरसको जोखिम नियन्त्रणका लागि आवश्यक पर्न सक्ने अनुमान गरी उक्त रकम अहिले विनियोजित शिर्षकमा खर्च नगर्ने भएको हो ।

प्रदेश सरकारले प्रदेश तयार पारेको प्रदेश स्तरीय योजना र बजेट तथा कार्यक्रम तर्जुमा दिग्दर्शन सार्वजनिक कार्यक्रममा आङबोले यस्तो बताउनु भएको हो । आङ्बोले संसदीय विकास क्षेत्र पूर्वाधार विकास कार्यक्रममा विनियोजन भएको रकम अन्य काममा खर्च नगर्ने पनि स्पष्ट पार्नुभयो ।

संसद विकास कोषमा विनियोजन भएको रकम कोरोना भाइरस रोकथामका लागि स्थापना गरेको कोषमा रकमान्तर गर्नुपर्ने भनाईप्रति असहमति जनाउँदै उहाँले संसद विकास कोषको रकम सम्वन्धित काममै खर्च हुने बताउनुभयोे । मन्त्री आङ्बोले कोरोना भाइरसको संक्रमणका लागि प्रदेश सरकारलाई बजेटको समस्या नहुने र अहिले नै आत्तिनु पर्ने अवस्था नआएको पनि बताउनुभयो ।

कार्यक्रममा मुख्यमन्त्री शेरधन राईले दिग्दर्शनले योजना कार्यान्वयनको पारदर्शीता र योजनाबद्ध विकासलाई सघाउने बताउनुभयो । उहाँले योजना संकलन, छनोट, कार्यान्वयन र तर्जुमाको वैज्ञानिक आधार तयार भएको बताउनुभयो ।

मुख्यमन्त्री राईले कोभिड १९ ले अर्थतन्त्रमा असर परेको भएपनि आगामी वर्षको योजना निर्माणमा पर्ने वास्तविक असरको यकिन गर्न कठिनाई भएको पनि बताउनुभयो । यस्तो कठिनाईलाई दिग्दर्शनले सहज बनाउन सहयोग पुग्ने उहाँको भनाई छ ।