शिक्षा मन्त्री र प्रदेशका सामाजिक विकासमन्त्रीबीच भिडियो संवाद

0
Shares

सरोज यादव,विराटनगर ।

संघीय सरकारका शिक्षा, विज्ञान तथा प्रविद्यिमन्त्री गिरीराजमणी पोखरेलले ७ वटै प्रदेशका सामाजिक विकासमन्त्रीहरुसँग भिडियो संवाद गर्नुभएको छ । मन्त्री पोखरेलले शैक्षिक शत्र २०७७÷०७८ को निति तथा कार्यक्रम र कोभिड–१९ को बढदो जोखिमबारे छलफल गर्न भिडियो संवाद गर्नुभएको हो ।

संवादमा बोल्नुहुँदै प्रदेश नं. १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले ई–लर्निङका लागी फोकल शिक्षकहरुको तालिमलाई निरन्तरता दिईएको बताउनुभयो । उहाँले लकडाउन अघि नै १ सय विद्यालयका ३ हजार शिक्षकलाई ई–लर्निङ तालिम दिन सुरु गरिएपनि लकडाउनका कारण उक्त कार्यक्रमलाई रुपान्तरण गरेर फोकल टिचरहरुको तालिम लाई निरन्तरता दिईएको मन्त्री घिमिरेले बताउनुभयो ।

मन्त्री घिमिरेले अबको शैक्षिक प्रणाली डिजिटल र प्रविद्यिमैत्री हुनुपर्नेमा जोड दिनुभयो । मन्त्री घिमिरेले टेलिफोन, रेडियो तथा टेलिभिजनको उच्चतम प्रयोगबाट घरबसी पठनपाठनको व्यवस्था मिलाउनुपर्ने प्रस्ताव समेत पेश गर्नुभएको छ ।

उहाँले पछिल्लो समयमा प्रदेश र संघीय सरकारबिच रहेका दुविद्या र अन्तरविरोधि क्रियाकलापलाई निर्मूल पार्दै प्राविद्यिक धारका नमुना विद्यालयको छनौट प्रक्रियामा स्पष्ट हुनुपर्ने धारणा समेत व्यक्त गर्नुभयो ।

भिडियो कन्फ्रेन्समा बोल्नुहुँदै शिक्षामन्त्री गिरीराजमणि पोखरेलले आजीवन सिकाईका अवसर विस्तार गर्न सामुदायिक अध्ययन केन्द्र र सामुदायिक पुस्तकालयको सुदृढीकरणमा जोड दिईने बताउनुभयो ।

उहाँले विद्यालय तथा उच्च शिक्षामा गुणस्तर सुनिश्चितता र प्रत्यायन प्रणाली लागु गर्न आवश्यक कानुनी र संस्थागत व्यवस्था गरिने जानकारी दिनुभयो । मन्त्री पोखरेलले चिकित्सा शिक्षालाई बढी सेवामुलक र कम नाफामुलक बनाउनका लागी गेटा मेडिकल कलेज सञ्चालनमा ल्याईने र नियमन क्षमता प्रभावकारी बनाइने जिकिर समेत गर्नुभयो ।