भारतको क्वारेन्टाइनमै आमाको किरिया गर्दै दार्चुलाका बासुदेव

0
Shares

किरन धामी,दार्चुला ।

दार्चुलाको शैल्यशिखर नगरपालिका‐१ जोग्यौडाका ३५ वर्षिय बासुदेव भट्टले आफ्नी ६५ वर्षिय आमा गौमती भट्टको किरिया क्वारेन्टाइनमै बसेर गरिरहेका छन् । कोरोना भाईरसको संक्रमण फैलिन नदिन नेपाल‐भारतले गरेको लकडाउनका कारण भारतको धार्चुला स्थित बलुवाकोट क्वारेन्टाइनमा विगत १५÷१६ दिन देखी बसिरहेका उनले घर आउनु नपाएपछि क्वारेन्टाइनमै किरिया गर्न बाध्य भएका हुन् ।

मंगलबार (हिजो) साझ आमा बिते पछि उनले घरमै आई किरिया गर्ने भने पनि लकडाउनका कारण आवतजावत बन्द भएपछि उनि क्वारेन्टाइनमै बसेर आमाको किरिया गरिरहेका छन् ।

तीन महिना अघि भारतमा मजदुरी गर्न गएका बासुदेव लकडाउनमा फसेपछि धार्चुलाकै क्वारेन्टाइनमा बसिरहेका छन् । अहिले घरमा उनका कान्छा भाईहरु लोकेन्द्र, जयराज र पदमराज भट्टले किरिया आफ्नी आमाको किरिया गरिरहेको जेठा छोरा बासुदेव भट्टले बताउनुभयो ।

पाँच भाई मध्ये बासुदेव र माधवराज भट्ट भारततिर छन् । अहिले उनिहरु पाँचै जना भाईहरुले आफ्नी आमाको छुट्टा‐छुट्टै स्थानबाट किरिया गरिरहेको छन् । ‘घरमा कान्छा भाईहरु मात्रै छन्, हामी जेठो र माइलो भाई मजदुरी गर्न भारत आएका हौ, लकडाउनका कारण आमालाई अन्तिम पटक भेट्न पाइएन भारतको बालुवाकोट क्वारेन्टाइनमा आमाको किरिया बसेका बासुदेवले भन्नुभयो ।’

आमाको दुखःद निधन भएको खबर पाउना साथ घर जानपाउँ भनेर जिल्लाका ठुल‐ठुला सबैलाई मानिसलाई फोन गरे अहिले सम्म आफुलाई नेपाल प्रवेश दिने बारे कुनै पहल नगरेको उहाको गुनासो छ ।

‘मंगलबार राती नै पुल खोल्ने आश्वासन मात्रै दिए अहिले सम्म पुल खोलेका छैनन्, आमाको किरिया घरमै गएर गर्न चाहान्छु उहाले थप्नुभयो ।’ दुःख पर्दा गरिबलाई कसैले हेर्दैनन्, आफ्नो नागरिक प्रति सरकार समेत गैरजिम्मेबार बन्यो बासुदेवले भन्नुभयो ।

गत फागुन तिन गते भारतको धार्चुला अन्र्तगत निर्माण भैइरहेको सडकमा मजदुरी गर्न गएका बासुदेव लकडाउन पछि घर आउन नपाइ उतै फसिरहेका छन् । सडकमा काम गरेको पैसा नदिएरै ठेकेदार घर गएपछि उहा झन समस्यामा परेका छन् ।

हल्द्धानी घर भएका ठेकेदार लकडाउन हुनु अघि नै घर गएपछि सकडमा काम गर्ने मजदुर बेखर्ची बनेका थिए । आमा संगै यसवर्षको बिसु मनाउने बासुदेवको धोको पुरा हुन सकेन । जेठा छोराहरु भारतमै कति बस्ने हुन् ? यस्तो बेला के खाने हुन् ? भन्ने चिन्ता लिएर छोराहरु कुर्दै बसेकी उनकी आमा छोराहरु भेट्न नपाइ संधैका लागी यो संसारबाट बिदा भएकी छन् ।

भारतको क्वारेन्टाइनमा अहिले उनि लगायत १ हजार बढि नेपाली बसेका छन् । बासुदेव भट्टले अहिले सेतो लुगा लगाएर क्वारेन्टाइनमै आमाको किरिया गरिरहेका छन् ।

बासुदेवलाई आमाको किरियाका लागी घर ल्याउन पहल गरिदिन शैल्यशिखर नगरपालिका वडा नम्बर १ को कार्यालयले जिल्ला प्रशासन कार्यालयलाई सिफारिस समेत पठाएको छ । यता प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेल पुल खुलाई बासुदेवलाई नेपाल भित्र्याउन वडा कार्यालयले गरेको सिफारिस भारतीय प्रशासनलाई पठाई आवश्यक समन्वय गरिएको बताउनुभएको छ ।