लकडाउन प्रभावकारी बनाउन स्थानीय तहको भुमिका महत्वपूर्ण

0
Shares

न्युज अफ नेपाल,हेटौंडा।

बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले लकडाउनलाई प्रभावकारी बनाउन स्थानीय तहको महत्वपूर्ण भुमिका हुने बताउनुभएको छ ।वडासँग समन्वय गरेर आवश्यक सामग्री वडाभित्र व्यबस्था गरेर लकडाउन प्रभावकारी बनाउन उहाँले प्रमुखहरुलाई निर्देशन दिनुभएको छ ।स्थानीय तहका प्रमुखहरुसँग भिडियो कन्फ्रेन्स गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

कुराकानीमा सबै स्थानीय तहले आफ्ना नाकाहरुमा कडाइ गर्ने हो भने लकडाउन प्रभावकारी हुने बताए । यो महामारीबाट बच्न सरकार निर्मम हुनु जरुरी रहेको देखिएको उहाँको भनाइ थियो । सरकारले अनुकूल समयअनुसार राहत उपलब्ध गराउने पनि जानकारी दिनुभयो ।

स्थानीय तहले मात्र राहत बितरण गनुपर्ने बताउँदै एकद्वार नीति अपनाउन उहाँले आग्रह गर्नुभयो । उहाँले लकडाउनका कारण काम गर्न नपाएर दैनिक गुजारा गर्न नसकी साँच्चै मर्कामा परेकालाई राहत दिने वातावरण बनाउन, राहत पाउनुपर्ने कहाँ राहत पु¥याउन प्रदेश सरकारले सहयोग गर्ने बताउनुभयो ।

कृषिको समस्या समाधान गर्न सरकारले छलफल गरिरहेको भन्दै कृषि उपजको बिक्री व्यबस्थापन गर्न सहज बनाउन सरकारले किसानलाई सहयोग गर्ने बताउनुभयो । भौतिक दुरी कायम गरी कृषि उत्पादनमा सहभागी हुन सकिने उहाँले बताउनुभयो ।

खेती गर्ने समय नजिक आएकोले बिउबिजन, मलका लागि स्थानीय तहलाई समन्वयको आग्रह गर्दै यस कार्यमा प्रदेश सरकारले तयारी सुरु गरेको जानकारी दिनुभयो ।

दैनिकरुपमा प्रयोग हुने अत्यावश्यक बस्तुलाई सहज बितरणमा स्थानीय तहले समन्वय गर्नुपर्ने उहाँले बताउनुभयो । कोरोनाबाट बच्न लकडाउन प्रभावकारी बनाउनुको विकल्प नभएको भन्दै आवतजावत रोक्ने यो अन्तिम अस्त्र रहेको उहाँले बताउनुभयो ।

अहिले कोरोना भाइरसका कारण देशमा जारी रहेको लकडाउनको अबस्थाका विषयमा मकवानपुरको मनहरी गाउँपालिका प्रमुख एकराज उप्रेती, चितवनको रत्ननगर नगरपालिका प्रमुख नारायण वन, सिन्धुलीको घ्याङ्लेख गाउँपालिका प्रमुख जगतबहादुर भ्लोन, धादिङको धुनीबेशी नगरपालिका प्रमुख बालकृष्ण आचार्य र दोलखाको भीमेश्वर नगरपालिका प्रमुख भरत केसीसँग भिडियो कन्फ्रेन्स कुराकानी गरिएको हो ।

बुधबार चितवनको भरतपुर र माडी नगरपालिका, सिन्धुलीको मरिण र सुनकोशी गाउँपालिका, कमलामाई नगरपालिका, रसुवाको गोसार्इंकुण्ड गाउँपालिका तथा सिन्धुपाल्चाकको बाह्रबीसे नगरपालिका प्रमुखहरुसँग भिडियो कन्फ्रेस गरिएको छ ।