लकडाउनमै चरी बस्यो


विश्वभर फैलँदै गएको कोरोना भाइरस कोभिड १९ को जोखिम न्यूनीकरणका लागि सरकारले ३ सातादेखि लगाएको लकडाउनका बाबजुद नयाँ गीत संगीतहरु सार्वजनिक भइरहेका छन्। पहिला नै रेकर्डिङ तथा छायाँकन भई तयारी अवस्थामा रहेका सांगीतिक सामग्री सार्वजनिक भएका हुन्।

यसै क्रममा गायिका हरिमाया गुरुङ र सीता गुरुङको मौलिक लोकभाका चरी बस्यो म्युजिक भिडियोसहित सार्वजनिक गरिएको छ। हरिमाया गुरुङ, सीता गुरुङ, राजु गुरुङ, कृष्ण गुरुङ र आइतराम गुरुङको स्वर रहेको गीतमा गायिकाद्वय हरिमाया र सीता गुरुङको शब्द तथा संगीत रहेको छ। गीत सार्वजनिक भएसँगै यसले राम्रो प्रतिक्रिया पनि पाइरहेको छ।

यो गीतमाथि पच्शिमाञ्चल कल्चरल गु्रपले म्युजिक भिडियो निर्माण गरेको छ। दीप गुरुङको निर्देशनमा बनेको भिडियो मधुर बस्नेत, विजय लामा र प्रेम खनालले छायाँकन गरेका छन् भने सुजन शाहीले सम्पादन गरेका छन्।

हेमा गुरुङ र दीप गुरुङको कोरियोग्राफी रहेको म्युजिक भिडियोमा राइनासकोटको घुमाउने घरमा रोधी बसेको कथा प्रस्तुत गरिएको छ। भिडियोमा गायक अमर विरही गुरुङ, कृष्ण गुरुङ, राजु गुरुङ, हरिमाया गुरुङ, सीता गुरुङका साथ पश्चिमाञ्चल कल्चरल गु्रपका कलाकारले अभिनय गरेका छन्।