अत्यावश्यक औषधीमा आत्मनिर्भर बन्ने सरकारी सपना


नेपाल समाचारपत्र, काठमाडौं

स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले अत्यावश्यक औषधीहरूको उत्पादनमा नेपाल आत्मनिर्भर बन्नुपर्ने बताउनुभएको छ । आइतबार मन्त्रालयमा देउराली जनता फर्मास्युटिकल्स प्रालिका तर्फबाट प्राप्त १ लाख ५० हजार थान हाइड्रोक्सिक्लोरोक्वाइन सल्फेट ट्याब्लेट बुझ्दै मन्त्री ढकालले भोलिका दिनमा नेपालमा चाहिने अत्यावश्यक औषधीहरूमा आत्मनिर्भर हुन सकियोस् भन्ने काम गर्नुपर्ने बताउनुभयो ।

मन्त्री ढकालले सम्पूर्ण औषधी व्यवसायीहरूले आफ्नो उत्पादन बढाउनुपर्ने भन्दै त्यसका लागि आवश्यक वतावरण तयार गर्नका लागि सरकारले सहयोग गर्ने बताउनुभयो । उहाँले भन्नुभयो– ‘औषधीहरू पर्याप्त उत्पादन गर्नुस्, उत्पादन गर्ने कुरामा कठिनाइ छन् भने ती कठिनाइ हटाउनका लागि सरकार तपाईंहरूको साथमा हुन्छ ।’

‘तपाईंहरू जस्तै व्यवसायी जो यो क्षेत्रमा लाग्नुभएको छ राज्यले उहाँहरूको संरक्षण गर्ने विकास गर्न सहयोग पु¥याउने र परनिर्भरताको यो विषयबाट माथि उठ्ने यो योजनाका साथी लाग्छौं ।’ उहाँले भन्नुभयो– ‘अप्ठयारोमा सहयोग गर्नुभएकोप्रति त आभार नै छ । भोलिका दिनका लागि पनि औषधी उत्पादन बढाउने गरी लाग्नुस् सरकार पूर्णरूपमा तपाईंहरूको साथमा हुन्छ ।’

उहाँले सबै मन्छेहरूको परीक्षा अप्ठ्यारोमा हुने भन्दै सजिलो बेलामा बोक्ने र सहयोग गर्नेहरू धेरै पाइने भए पनि अप्ठ्यारो बेलामा राज्यको ठाउँमा हामी पनि साथै छौं भन्ने मान्छेहरू थोरै पाइने बताउनुभयो । उहाँले उद्योगका तर्फबाट प्राप्त सहयोगका निम्ति सरकारका तर्फबाट प्रशंसा व्यक्त गर्दै धन्यवाद प्रकट गर्नुभयो ।

सो समारोहमा देउराली जनता फर्मास्युटिकल्सका कार्यकारी निर्देशक हरिभक्त शर्माले आफू सधैं सरकारसँग हातेमालो गरेर अघि बढ्न तयार रहेको बताउनुभयो । उहाँले उद्योगका तर्फबाट आगामी दिनमा पनि सहयोग गर्दै जाने बताउनुभयो । उहाँले कोरोनाको विपद् शुरू भएलगत्तै पनि विभिन्न सहयोग गरेको बताउँदै सरकारसँग हातेमालो गर्दै अघि बढ्ने बताउनुभयो ।

सो समारोहमा मन्त्रालयका सचिव यादव कोइराला, मन्त्रालयका विज्ञ सल्लाहकार डा. खेमबहादुर कार्की र औषधी व्यवस्था विभागका महानिर्देशक नारायण ढकाल पनि सहभागी हुनुहुन्थ्यो ।