कोरोना संक्रमित महिलाका साथ ३५ जना एउटै बसमा


नेपाल समाचारपत्र, काठमाडौं

कैलालीमा नयाँ भेटिएकी कोरोना संक्रमित प्रमाणित ६५ वर्षीया महिला वीरगन्जमा चिया पसल सञ्चालन गर्दै आएको व्यक्ति भएको बुझिएको छ । उनको स्थायी घर भने कैलालीको लम्कीचुहा नगरपालिका भएको बताइएको छ ।

लकडाउनका कारण वीरगन्जको बसपार्कमा अलपत्र परेपछि स्थानीय प्रशासनले नै बस बुकिङ गरिदिएर संक्रमित महिलासहित ३५ जनालाई कैलाली पठाएको थियो ।

ती वृद्धासहित १७ जनालाई सीमा नाकाबाट आएको भन्दै जनप्रतिनिधिहरूले लम्कीचुहा बहुमुखी क्याम्पसमा २९ गतेसम्म क्वारेन्टाइनमा राखेको टीकापुर अस्पतालका स्वास्थ्यकर्मीले जानकारी दिएका छन ।

संक्रमित व्यक्तिको चैत २५ गते गरिएको ¥यापिड टेस्टमा नेगेटिभ देखिए पनि क्वारेन्टाइनबाट छोडिएपछि उहाँ भुरुवास्थित आफन्तकोमा बस्नुभएको थियो ।

तर राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंबाट चैत २५ गते कैलाली पुगेको टोलीले क्वारेन्टाइनमा बसेका ५१ जनामध्ये ४४ जनाको नमुना काठमाडौं ल्याई परीक्षण गर्दा एक जना वृद्धाको रिपोर्ट पोजेटिभ आएको र पुनः परीक्षण गर्दा पनि पोजेटिभ आएपछि संक्रमण पुष्टि गरी उपचारका लागि ती वृद्धालाई सेती प्रादेशिक अस्पताल लगिएको जनाएको छ । अस्पतालका अनुसार संक्रमित व्यक्तिको स्वास्थ्य अवस्था सामान्य रहे पनि दमको समस्या पहिला नै भएको जनाइएको छ ।

संक्रमित महिलासँगै क्वारेन्टाइनमा बस्ने अन्य १७ जनालाई पनि पुनः परीक्षणका लागि बोलाइएको टीकापुर अस्पतालले जनाएको छ ।