बेवारिसे बृद्धबृद्धाका लागि टौमढी युथ क्लबको राहत सहयोग


पुष्कर बुढाथोकी, भक्तपुर ।

मानव कल्याण समाज (सेवाघर)मा रहेका ६५ जना बेवारिसे बृद्धबृद्धाका लागि टौमढी युथ क्लबले १ हप्ताका लागि पुग्ने रासन सामग्री सहयोग गरेको छ ।

विश्वव्यापी महामारीका रुपमा फैलदैं गएको कोरोना भाइरस नेपालमा फैलन नदिन सरकारले जारी गरेको लकडाउनका समयमा आम नागरिकका अत्यावश्यक सामाग्रीको समस्या न्यूनिकरण गर्ने कार्यमा सक्रिय रहँदै आएको क्लबले झौखेलस्थित सेवाघरमा रहेका जेष्ठ नागरिकहरुको जीवन यापन कष्टकर नहोस् भन्ने उद्देश्यले रासन उपलब्ध गराएको संस्थाका पूर्व अध्यक्ष बिजय धौभडेलले जानकारी दिनुभयो ।

क्लबले समाजका अध्यक्ष सुमित्रा चौलागाईलाई १ हप्ताका लागि पुग्ने गरि २ सय केजी चामल, ५० केजी दाल, १५ लिटर तेल, ८ केजी नुन, ५६ केजी आलु, २५ केजी प्याज, १० केजी चिनी, चियापत्ति, बिष्कुट, दुध लगायतका रासन सामग्री हस्तान्तरण गरिएको संस्थाका अध्यक्ष शिबराम भुजुले जानकारी दिनुभयो ।

मानव कल्याण समाजका अध्यक्ष सुमित्रा चौलागाईंले मुलुक लकडाउनको अवस्थामा रहेको बेलामा जेष्ठ नागरिकका लागि रासन सहयोग गर्नु मानविय सेवाको सर्वोत्तम सेवा भएको उल्लेख गर्नुभयो ।रासन सामग्री ढुवानीका लागि जुद्ध बारुण यन्त्र भक्तपुरको भ्यान सहयोग स्वरुप प्राप्त भएको निवर्तमान अध्यक्ष धौभडेलले जानकारी दिनुभयो ।