किसानको ५ अर्ब जोखिममा १४ लाख कुखुरा मार्न आग्रह

0
Shares

रोशन पराजुली,हेटौंडा ।

मकवानपुरका करिब १ हजार ५ सय कुखुरापालक किसानको करिब ५ अर्ब लगानी डुब्ने अबस्थामा पुगेको भन्दै चिन्ता व्यक्त गरिएको छ ।
कुखुरा व्यबसायी संघ मकवानपुरले किसानको फर्ममा भएका कुखुरा तथा अण्डाको विवरण तत्काल संकलन गरी राहत प्याकेज घोषणा गर्न जिल्ला प्रशासन कार्यालय मकवानपुरसमक्ष अनुरोध गरेको छ ।

संघ अध्यक्ष राजु अधिकारीले जिल्ला प्रशासन कार्यालय मकवानपुरमा किसानलाई पर्न गएको समस्याबारे जानकारी गराउँदै राहत प्याकेज घोषणा गर्न माग गर्नुभएको हो । देशमा जारी लकडाउनका कारण आफूहरु मारमा परेको भन्दै मकवानपुरका किसानहरुको खोरका कुखुरा मार्न स्थानीय प्रशासनसमक्ष आग्रह गरिएको छ ।

संघले बुधबार प्रमुख जिल्ला अधिकारी दीपकराज नेपाललाई ज्ञापनपत्र बुझाएर जिल्लाभर किसानको खोरमा करिब १४ लाख कुखुरा रहेको जानकारी गराउँदै उक्त विषयको सरकारी तवरबाट अभिलेखीकरण गरेर मार्ने वातावरण बनाइदिन आग्रह गर्नुभयो ।

‘जिल्लामा एकहजार पाँचसय कुखुरापालक किसान छन् । उनीहरुको प्रत्यक्ष वा अप्रत्यक्षरुपमा पाँच अर्बभन्दा बढी लगानी डुब्ने अवस्थामा छ’, कुखुरा व्यबसायी संघ मकवानपुर अध्यक्ष अधिकारीले दाना उद्योगहरुले विभिन्न बहानामा दानाको भाउ बढाएर आफूहरुलाई दुःख दिएको आरोप लगाउनुभयो ।

‘दाना उद्योगले भाउ बढाएर दुःख दिइरहेका छन् । दाना आउने क्रमसमेत रोकिएको छ । खोरमा रहेको कुखुराको लागत मूल्यभन्दा कममा बेच्दासमेत बिक्री हुने अबस्था छैन । कुखुरा र अण्डाको मूल्य अत्यधिक घटेको छ । यस्तो अबस्थामा लकडाउनको समय लम्बिएकाले खोरमै कुखुरा मर्ने अबस्था हुन्छ ’, अधिकारीले भन्नुभयो ।

उहाँले सरकारी तवरबाट कुखुराको तथ्यांक राखेर नष्ट गरिदिन र किसानका लागि राहत प्याकेज उपलब्ध गराउन र बैंकको व्याज मिनाहका लागि माथिल्लो निकायको ध्यानकर्षण गराइदिन समेत प्रजिअ नेपाललाई आग्रह गर्नुभएको छ । ‘कुखराको मासुमा राज्यलाई आत्मनिर्भर बनाउन हामी लामो समयदेखि सहकार्य गरेर अगाडि बढेका थियौं ।

हाल हामीमात्र नभएर देश नै समस्यामा रहेको समयमा राज्यले हामीलाई हेर्ने दृष्टि सकारात्मक हुनु जरुरी छ’, उहाँले संक्रमणको अबस्थामै राज्यबाट पीडित किसानका लागि राहत घोषणा भए आफूहरुलाई पछिल्लो दिनमा काम गर्न थप हौसला मिल्ने बताउनुभयो ।

मकवानपुरका कुखुरापालक किसानको फर्ममा रहेका सम्पूर्ण लेयर्स तथा ब्रोइलर कुखुराको विवरण संकलन गरी राहत प्याकेज घोषणा गर्नुपर्ने संघको माग छ । लकडाउनका कारण आवश्यक दाना किसानले नपाउने र उत्पादन भएका कुखुरा तथा अण्डा बजारमा बिक्री हुने अबस्था नरहेकोले कुखुरा नष्ट गर्नुको विकल्प नभएको भन्दै किसानको फर्ममा भएका कुखुराको विवरण संकलन गरी तुरुन्त राहत प्याकेज घोषणा गरिदिन अध्यक्ष अधिकारीले माग गर्नुभयो ।

उहाँले कोरोनाका कारण मकवानपुरमा रहेका कुखुरा र अण्डाको मूल्य अत्यन्त घटेकाले लागत मूल्यसमेत नउठ्ने अबस्था रहेको र खपत नभएको अबस्थामा बैंकबाट ऋण लिएर कुखुरापालन गर्ने किसान डुब्ने निश्चित भएको दाबी गर्नुभयो ।