गाउँपालिकाहरुलाई प्रतिपक्षी नेताद्वारा ३ लाख

0
Shares

रोशन पराजुली,हेटौंडा ।

बागमती प्रदेशका प्रमुख प्रतिपक्षी दलका नेता, कांग्रेस मकवानपुर सभापति इन्द्रबहादुर बानियाँले मकवानपुरको पश्चिम क्षेत्रस्थित दुई गाउँपालिका पुगेर कोरोनाविरुद्ध अभियानका लागि ३ लाख रुपियाँ सहयोग गर्नुभएको छ ।

विश्वमा महामारीका रुपमा फैलिएको कोरोना भाइरसको बढ्दो संक्रमण र जोखिम नियन्त्रण गर्न नेता बानियाँले मकवानपुरकै विकट राक्सिराङ गाउँपालिकालाई २ लाख र मनहरी गाउँपालिकालाई १ लाख रुपियाँ सहयोग गर्नुभएको हो ।

मकवानपुर क्षेत्र नम्बर–२ ९ख० का सांसद् नेता बानियाँले केही दिनअघि विज्ञप्ति निकालेर घोषणा गरेबमोजिम राक्सिराङ गाउँपालिका अध्यक्ष राजकुमार मल्ल र मनहरी गाउँपालिका अध्यक्ष एकराज उप्रेतीलाई गाउँपालिकाको विपद् व्यबस्थापन कोषमा आफूले जम्मा गरेको रकमको भौचर बुधबार हस्तान्तरण गर्नुभएको हो ।

नेता बानियाँले गाउँपालिकाहरुले निर्माण गरेका आइसोलेसन वार्डको निरीक्षण गर्नुभएको छ । प्रमुख प्रतिपक्षी दलका नेता बानियाँले कोरोनाको बढ्दो संक्रमण र सम्भावित जोखिमलाई मध्यनजर गर्दै दुवै गाउँपालिकाले निर्माण गरेका आइसोलेसन वार्डको निरीक्षण गर्दै गाउँपालिकाका जनप्रतिनिधिहरु, स्वास्थ्यकर्मी, सुरक्षाकर्मीहरुलाई विशेष धन्यवाद दिनुभएको थियो ।

नेता बानियाँले राक्सिराङ गाउँपालिका–५, बोटबारीका ज्यालादारी र मजदुरी गरेर खाने ३० घरपरिवारलाई खाद्य सामग्री हस्तान्तरण गर्नुभएको छ । लकडाउनको समयमा आर्थिक अबस्था कमजोर रही दुई छाक टार्न समस्या परेका ३० घर परिवारलाई गाउँपालिकाले विपद् व्यबस्थापन कोषबाट खाद्य सामग्री वितरण गरिएको हो ।