आगलागी हुँदा करिब १५ हेक्टर वन जलेर नष्ट


शिक्षा पन्त, लमजुङ ।

लमजुङको सुन्दरबजार नगरपालिका–१ कुन्छाको पातल सामुदायिक वनमा आगलागी हुँदा करिब १५ हेक्टर वनका रुख जलेर नष्ट भएको छ । आगलागीले धनजनको क्षति नभए पनि लाखौँ रुखबिरुवा नष्ट पारेको स्थानीय गोवद्र्धन गौलीले बताउनुभयो ।

उहाँका अनुसार कोइराला फाँट नजिकैको पाउँदी खोला छेउबाट पहाडको टुप्पोसम्म आगलागी भएको छ । सोमबार साँझ पौने ७ बजेतिर स्थानीयले आगलागी भइरहेको देखेपछि प्रहरीलाई खबर गरेका हुन् । आगलागीबाट पातल सामुदायिक वनका रुख बिरुवा जलेको स्थानीय गौलीको भनाइ छ । वनजंगलको रुखबिरुवा र पातपतिंगरलाई डढाएर आगो पहाड हुँदै गढीमा पुगेपछि राति १ बजेतिर आफैं नियन्त्रणमा आएको थियो ।

प्रहरी र स्थानीयले आगो निभाउन प्रयास गरे पनि आगो निभाउन सकेका थिएनन् । सोमबार राति साढे ९ बजेतिर खबर आएपछि प्रहरी आगलागी भएको ठाउँमा खटिएको जिल्ला प्रहरी कार्यालयका इन्सपेक्टर ओमप्रकाश पुनले बताउनुभयो ।

उहाँका अनुसार कुन्छा प्रहरी चौकीबाट असई गुनबहादुुर थापाको नेतृत्वमा खटिएको केही बेरपछि इलाका प्रहरी कार्यालय भोटेओडारका इन्सपेक्टर लोकेन्द्र अधिकारीको नेतृत्वमा प्रहरी खटिएको थियो ।