कोरोना संक्रमितको उपचार प्रक्रियामा मृत्यु भएमा प्रदेश सरकारले ५० लाख दिने


न्युज अफ  नेपाल,  विराटनगर ।

प्रदेश १ सरकारले कोरोना संक्रमितको उपचारमा खटिँदा कसैले ज्यान गुमाए तीनको परिवारलाई ५० लाख रुपियाँ उपलब्ध गराउने घोषणा गरेको छ। कोरोनाबाट संक्रमितको उपचारका क्रममा खटिँदा ज्यान गुमाउने स्वास्थ्यकर्मीसहित कर्मचारीका परिवारलाई प्रदेश १ सरकारले ५० लाख रुपियाँ प्रदान गर्ने निर्णय मंगलबारको मन्त्रिपरिषद् बैठकबाट गरेको हो ।

कोरोना भाइरसको नियन्त्रण, रोकथाम तथा उपचार कार्यमा संलग्न सरकारी वा गैरसरकारी अस्पतालमा प्रदेश सरकारले खटाएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी¸ एम्बुलेन्स चालक¸ स्थानीय तहमा कार्यरत कर्मचारी वा अन्य कुनै पदाधिकारीको मृत्यु भएका ५० लाख प्रदान गर्ने निर्णय प्रदेश सरकारले गरेको हो।

प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मतकुमार कार्कीले कोरोना उपचारमा खटिनेहरुको सुरक्षाको प्रत्याभूति गर्न यस्तो निर्णय गरिएको बताउनुभयो। यस्तै कोरोना भाइरस नियन्त्रण, रोकथाम तथा उपचार कार्यमा प्रदेश सरकार वा सो मातहतका निकायले खटाएका स्वास्थ्य क्षेत्रका जनशक्तिहरूलाई नेपाल सरकारले निर्धारण गरेबमोजिम दोहोरो नपर्ने गरी प्रोत्साहन भत्ता प्रदान गर्ने निर्णय पनि प्रदेश सरकारले गरेको छ।

प्रदेश १ मा अहिलेसम्म कोरोना संक्रमण देखिएको छैन। मंगलबारसम्म प्रदेशका ९० जनाको स्वाब संकलन भएको छ भने ८५ जनाको रिपोर्ट नेगेटिभ आएको छ। बाँकी ५ जनाको रिपोर्ट आउन बाँकी रहेको प्रदेश सरकारले जनाएको छ । अहिले प्रदेशमा ९ जना आइसोलेसनमा छ्न् भने ६ सय १३ जना क्वारेन्टाइनमा छन्। त्यस्तै २ हजार ८ सय ८५ जना होम क्वारेन्टाइनमा छन्। मन्त्रिपरिषद्को मंगलबारको बैठकले प्रदेश क्यालेन्डर स्वीकृत गर्दै २०७७ सालमा दिइने विदाहरु स्वीकृत गरेको छ ।