मजदुरलाई लक्षित गरी खाद्य बैंक स्थापना


गणेश साम्पाङ, पाँचथर ।

कोरोना भाइरसको कारण देश लकडाउनमा परेको बेला जिल्लामा अवस्थित मजदुर तथा श्रमिकहरुलाई राहत बितरणका लागि पाँचथर उद्योग वाणिज्य संघ फिदिमले खाद्य बैंक स्थापना गरेको छ ।

गत शनिबारदेखि शुरु गरिएको बैंकमा मंगलबारसम्ममा छ हजार ९ सय ५५ केजी चामल, २ सय लिटर खाने तेल, २ सय केजी नुन, २ सय ५० केजी दाल, ३५ कार्टुन चाउचाउ र २ लाख ३५ हजार २ सय ९० रुपियाँ नगदसमेत जम्मा भएको पाँचथर उद्योग वाणिज्य संघका अध्यक्ष दीपक नेपालले बताउनुभयो ।

जम्मा भएको सामग्रीलाई संघको बैठक बसेर मापदण्ड बनाई चाँडै बितरण गरिने बताउनुभयो । सो संघको शाखाको रूपमा रहेको मिक्लाजुङ गापाको रवि, कुम्मायकमा रहेको यासोक र याङवरकमा रहेको थर्पु शाखाहरुमा समेत बैंक स्थापना गरिएको र ती शाखाहरुले जम्मा गरेका खाद्य सामग्रीलाई समेत जम्मा गरेर जिल्ला भरमा लक डाउनमा परेर हात मुख जोड्न समस्या हुने परिवारलाई आवश्यकताको आधारमा बितरण गरिने संघका महासचिव नवराज घिमिरेले बताउनुभयो ।

दुई हप्तादेखि लकडाउन घोषणा भएपछि मजदुरी गर्ने श्रमिक र तल्लो स्तरका कृषकहरुलाई बिहानबेलुका हातमुख जोड्ने समस्यामा परेका छन् ।