वालिङ नगरपालिकाले एसईई दिने विद्यार्थीलाई वालिङ टेलिभिजन मार्फत पढाउने

0
Shares

भूपराज बस्याल,स्याङ्जा ।

स्याङ्जाको वालिङ नगरपालिकाले माध्यमिक शिक्षा परीक्षा एसइइ दिने तयारीमा रहेका विद्यार्थीहरुको लागि विशेष कक्षा सञ्चालन गर्ने भएको छ । कोभिड १९ कोरोना भाईरसका कारण परीक्षा दिन नपाएका आफ्ना नगरपालिका भित्र रहेका विद्यार्थीहरुको लागि नगरपालिकाले टेलिभिजनबाट कक्षा सञ्चालन गर्ने भएको हो ।

परीक्षाको तयारी गरेर बसेका विद्यार्थीहरुले पढेका कुराहरु बिर्सन सक्ने भन्दै नगरपालिकाले पुनर्ताजकीको लागि यही बिहिबार साँझ ६ बजे वालिङ टेलिभिजन एचडि मार्फत पढाउने भएको हो ।

कोभिड १९ को संक्रमण रोकथामको लागि नेपालमा गरिएको लक डाउन लम्बिदै गएपछि नगरले विद्यार्थीहरुको पढाईमा कुनै असर नपारोस भन्ने लक्ष्य राखेर टेलिभिजनबाट विशेष कक्षा सञ्चालन गर्न लागेको वालिङ नगरपालिकाका नगर प्रमुख दिलीपप्रताप खाँणले बताउनु भयो ।

नगरप्रमुख खाँडले पहिलो पटक सुरु गर्न लागिएको यो विशेष कक्षाले आगामी दिनमा समेत स्मार्ट तरीकाबाट पढाउन थप सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । बिहीबार साँझदेखि सञ्चालन हुने कक्षामा गणित, अंग्रेजी र विज्ञान विषयको पढाई हुने छ भने कक्षाको लागि वालिङ टेलिभिजनले समायोजन गर्ने छ ।

कक्षामा सहभागिता जनाउन र आफ्नो प्रश्न राख्नको लागि विद्यार्थीहरुले वालिङ टेलिभिजनमा सम्पर्क गर्न नगरप्रमुख खाँणले आग्रह गर्नु भएको छ ।