कोरोना संक्रमित युवतीसँगै फर्किएकामध्ये एकको रिपोर्ट नेगेटिभ


न्युज अफ नेपाल, खोटाङ ।

चैत–२४, कोरोना संक्रमित युवतीसँगै नेपाल फर्किएका खोटाङका दुई मध्ये एक जनाको कोरोना भाइरस परीक्षण रिपोर्ट नेगेटिभ देखिएको छ । फ्रान्सबाट कतार हुँदै गत चैत ४ गते नेपाल आएकी एक युवतीमा कोरोना संक्रमण भएको पूष्टी भएको थियो ।

तिनै युवतीसँग कतारबाट काठ्माण्डौंसम्मको यात्रा गरेका जन्तेढुंगा गाउँपालिका–३ का राई थरका युवाको नमूना परीक्षणका क्रममा कोरोनाको रिपोर्ट नेभेटिभ देखिएको हो । विपि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको स्वाव परीक्षणका क्रममा उनको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको खोटाङका प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेलले बताउनुभयो ।

कोरोना संक्रमण भएको आशंकामा जिल्ला अस्पतालका तालिम प्राप्त स्वास्थ्यकर्मीमार्फत उनको नमूना संकलन गरेर परीक्षणका लागि चैत २१ गते राती धरान पुर्याइएको थियो । घर आएको १४ दिनभन्दा बढि वितिसकेको भए पनि संक्रमण भए/नभएको पुष्टी गर्नका लागि उनको स्वाव परीक्षणमा पठाइएको थियो ।

विदेशबाट आएर घरैमा बसिरहेका उनलाई गाउँपालिकाको पहलमा चैत १२ गतेदेखि होम क्वारेन्टाईनमा राखिएको छ । सोही जहाजबाट फर्किएका केपीलासगढी गाउँपालिकाका एक जना भने धरानमा क्वारेन्टाईनमा राखिएको छ ।