गल्याङमा तीन जना मात्रै होम क्वारेन्टाइनमा,११ जनाको स्वाब परिक्षणका लागि पोखरा पठाइयो

0
Shares

भूपराज बस्याल स्याङ्जा ।

स्याङ्जाको गल्याङ नगरपालिकामा होम क्वारेन्टाइनमा बस्नेको संख्या तिनमा झरेको छ । १५ दिन भन्दा बढि क्वारेन्टाइनमा बस्नेहरुलाई परिवारसँगै बस्ने अनुमति दिइएसँगै होम क्वारेन्टाइनमा बस्नेको संख्या तिनमा झरेको हो ।

गल्याङ नगरपालिकाको वडा नम्बर चारमा एक जना र छ मा दुई जना मात्रै होम क्वारेन्टाइनमा रहेको प्रमुख प्रशासकीय अधिकृत इश्वरीप्रसाद पाण्डेले जानकारी दिनुभयो । उहाँले १५ दिन भन्दा बढि होम क्वारेन्टाइनमा बसेकाहरुलाई साबधानीपूर्वक रहन आग्रह गर्दै स्वास्थ्य परिक्षण पछि परिवारसँगै बस्न अनुमति दिइएको बताउनुभयो ।

पाण्डेले सम्बन्धित वडाका अध्यक्ष सहित स्वास्थ्यकर्मीले उनीहरुको नियमित निगरानी गर्ने पनि बताउनुभयो । गल्याङमा चैत्र दुई गते यता विदेशबाट आएका एक सय १० जना मध्ये एक सय सात जना अब परिवारसँगै बस्न पाएका हुन् ।

अब विदेशबाट आएका मध्ये एक जना १० गते र दुई जना ११ गते आएका मात्रै होम क्वारेन्टाइनमा बसेका छन् । त्यस्तै नगरपालिकामा विदेशबाट आएका ११ जनाको स्वाब परिक्षणका लागि नमूना संकलन गरिएको छ ।

संकलन गरिएको स्वाव परिक्षणका लागि पोखरा पठाइएको छ । गल्याङ नगरपालिका स्वास्थ्य शाखा प्रमुख लिला भण्डारीले विदेशबाट आएकाहरुको स्वास्थ्य परिक्षण सँगै स्वाब संकलन गरिएको जानकारी दिनुभयो । गल्याङ बहुमुखी क्याम्पसमा स्वाब परिक्षण गरिएको थियो ।