गल्याङको राहत कोषमा सहयोग आउने क्रम जारी

0
Shares

भूपराज बस्याल,स्याङ्जा । 

स्याङ्जाको गल्याङ नगरपालिकामा स्थापना गरिएको राहत कोशमा सहयोग रकम आउने क्रम बढेको छ । कोरोना संक्रमणका कारण गरिएको लकडाउनका कारण समस्यामा परेका विपन्नहरुको सहयोग गर्न स्थापना गरिएको राहत कोशमा रकम आउने क्रम बढेको हो ।

सोमबार गल्याङ चेम्बर अफ कमर्शले राहत कोशका लागि ५१ हजार एक सय रुपैयाँ सहयोग गरेको छ । गल्याङ नगरपालिका प्रमुख भुपराज अधिकारीको कार्यकक्षमा गल्याङ चेम्बर अफ कमर्सले सहयोग गरेको हो । सहयोग रकम ग्रहण गर्दै गल्याङ नगरपालिका प्रमुख भुपराज अधिकारीले भर्खरै स्थापना भएको गल्याङ चेम्बर अफ कमर्सले महत्वपूर्ण सहयोग गरेको भन्दै धन्यवाद ज्ञापन गर्नुभयो ।

उहाँले सहयोग गरिएको रकम पारदर्शी रुपमा वास्तविक पीडितहरु सामु पु¥याइने स्पष्ट पार्नुभयो । नगरप्रमुख अधिकारीले भन्नुभयो –‘सहयोग गरिएको सम्पूर्ण रकम पारदर्शी ढंगले वितरण हुनेछ । एकद्वार प्रणालीबाट राहत वितरण गरिने भएकाले अन्य व्यक्ति तथा संस्थालाई पनि सहयोगको अपिल गर्दछु ।’ उहाँले थोरै थोरै रकम भएपनि विपदको बेलामा सहयोग गर्न आग्रह गर्नुभयो ।

रकम हस्तान्तरण गर्दै गल्याङ चेम्बर अफ कमर्सका अध्यक्ष गंगाप्रसाद श्रेष्ठले पीडितहरुलाई सहयोग पुगोस भन्ने उद्देश्यले थोरै भएपनि सहयोग गरिएको बताउनुभयो । सहयोग हस्तान्तरण कार्यक्रममा गल्याङ चेम्बर अफ कमर्सका बरिष्ठ उपाध्यक्ष अर्जुन रानाभाट उपाध्यक्ष कुमार श्रेष्ठ लगायत पदाधीकारी र सदस्यहरुको पनि उपस्थिति रहेको थियो ।

यस्तै, लायन्स क्लब अफ गल्याङ सिटीले पनि गल्याङ नगरपालिकाको प्रकोप व्यवस्थापन राहत कोशमा १५ हजार रुपैयाँ हस्तान्तरण गरेको छ । गल्याङको नयाँबजारमा लायन्स क्लबका प्रथम उपाध्यक्ष अर्जुन बस्यालले गल्याङ नगरपालिका प्रमुख भुपराज अधिकारीलाई राहत रकम हस्तान्तरण गर्नुभयो ।

साथमा लायन्स क्लब अन्तर्राष्ट्रिय ३२५ वि वान नेपाल बाट प्राप्त तीन थान व्यक्तिगत सुरक्षा सामाग्री पिपिइ पनि बस्यालले नगरप्रमुख अधिकारीलाई हस्तान्तरण गर्नुभयो ।