पछिल्लो एक महिनामा विदेश भ्रमण गरी काठमाडौँ महानगरभित्र बसोवास गर्ने १ सय १७ जनाको विवरण संकलन

0
Shares

न्युज अफ नेपाल,काठमाडौँ ।

कोरोना भाइरसको संक्रमणलाई फैलिन नदिन र यसको रोकथाम र नियन्त्रणका लागि काठमाडौँ महानगरपालिकाले विभिन्न प्रयासहरु गर्दै आएको छ । यसै अन्र्तरगत महानगरपालिकाले १ मार्च २०२० (२०७६ फागुन १८) पछि विदेश भ्रमण गरी महानगरपालिकामा वसोवास गर्दै आएकाहरुको विवरण संकलनलाई तिव्रता दिएको छ ।

विदेशबाट फर्केका नेपालीहरू सतर्क र सचेत भएनन् भने सबैभन्दा पहिला आफ्नै परिवारको ज्यानलाई खतरामा पार्ने र त्यसपछि छरछिमेकीलाई प्रभावित पार्ने भन्दै काठमाडौँ महानगरपालिकाले विदेश भ्रमण गरी महानगरपालिका भित्र बसोबास गर्नेको विवरण संकलन सुरु गरेको हो । आइतबारसम्म काठमाडौँ महानगरपालिकाले यसरी बसोवास गर्दै आएका १ सय १७ जनाको विवरण संकलन गरेको छ ।

विदेशबाट फर्कनेहरू, अझ भारतबाट आएका नेपाली नागरिकहरू १४ दिनसम्म अनिवार्य रूपमा क्वारेन्टाइनमा बस्नै पर्ने नियमलाई पालना गर्नका लागि महानगरपालिकाले यस्तो विवरण संकलनको कामलाई तिव्र रुपमा अघि बढाएको जानकारी दिएको छ ।

‘हामीले पहिलो चरणमा ३२ वटै वडासम्म पुगेर पछिल्लो एक महिनामा विदेश भ्रमण गरी महानगरमा बसोवास गर्दै आएका नागरिकको विवरण संकलन गर्ने, उनीहरुको अवस्था बुझ्ने र आवश्यकता अनुसार नमुना परीक्षणका लागि स्वाब संकलन समेत गर्ने तयारी गरेको छौँ,’ काठमाडौँ महानगरपालिकाका प्रमुख बिद्यासुन्दर शाक्यले भन्नुभयो, ‘उपत्यका नगरपालिका फोरमको आजको बैठकले पनि यसरी विदेश भ्रमण गरी उपत्यका भित्रै वसोवास गर्नेहरुको विवरण संकलन गरी नमुना परीक्षणका लागि स्वाब संकलन गर्ने कामलाई तिव्र रुपमा अघि बढाउने निर्णय गरेको छ ।

विभिन्न सरोकारवाला निकायहरुसँगको सहकार्यमा त्यसो गरियो भने उहाँहरुलाई पनि ढुक्क हुन्छ, परिवार, छरछिमेक र समाजलाई पनि ढुक्क हुन्छ । त्यसैले हामीले विदेश भ्रमण गरी आएकाहरुको विवरण संकलन सुरु गरेका हौँ ।’ मेयर शाक्यले कतिपय अवस्थामा त विदेश भ्रमण गरेर फर्किएकाहरुलाई अपराधीको जस्तो व्यवहार हुने गरेको भन्ने सुन्नमा आएको भन्दै त्यस्तो नहोस भन्नका लागि महानगरपालिकाले टोलटोलमै पुगेर विवरण संकलन गरी परीक्षण गर्ने कामलाई अघि बढाएको बताउनुभयो ।

‘सकेसम्म कसैलाई पनि कोरोना संक्रमण नहोस भन्ने हाम्रो कामना छ,’ शाक्यले भन्नुभयो, ‘यदि कसलैलाई त्यस्तो देखियो भने पनि उहाँहरुलाई अपराधीको जस्तो व्यवहार गर्ने होइन, उपचार गर्ने व्यवस्था गर्नुपर्छ ।’ प्रमुख शाक्यले अहिले वडा–वडामा उपयुक्त ठाउँ खोजी क्वारेन्टाइनको समेत व्यवस्थापन गरिरहेको जानकारी समेत दिनुभयो ।

यसरी आइतबारसम्म विवरण संकलन गरेका १ सय १७ मध्ये सबै भन्दा बढी दुबईबाट फर्किएका छन् । त्यसैगरी कतार,फान्स, अष्टे«लिया, बेल्जिम, अमेरिका, कुवेत, जोर्डन, मलेसिया, थाइल्याण्ड, जापान, जर्मन, भारतलगायतका देशको भ्रमण गरी आएकाहरुको पनि विवरणमा संकलन गरिएको छ ।
काठमाडौँ महानगरपालिकाका प्रशासन विभाग प्रमुख नमराज ढकालकले अहिलेसम्म १ सय १७ जनाको विवरण संकलन भएको जानकारी दिनुभयो । ती मध्ये ५३ जनाको पूर्ण विवरण नै केन्द्रलाई प्राप्त भएको उहाँले बताउनुभयो ।

उहाँका अनुसार अहिलेसम्म वडा नम्बर–१ बाट ३, वडा २ बाट ३, त्यसैगरी वडा–६ बाट ११, वडा–७ बाट ४ जनाको विवरण केन्द्रलाई प्राप्त भएको छ । त्यसैगरी वडा–९ बाट तीन, वडा–१४ बाट ५ र वडा–१८ बाट २ जनाको विवरण संकलन भएको छ । वडा–१९ बाट ४, वडा–२१ बाट ६ र वडा–२२ बाट एक जनाको विवरण संकलन भएको पनि ढकालले जानकारी दिनुभयो । वडा–३१ मा ११ जनाको विवरण संकलन भएको छ । यसरी विवरण संकलन गरेका मध्य कतिपय सेल्फ क्वारेन्टाइनमा बसेका छन् भने कतिको अवस्था सामान्य रहेको छ ।