नेपाललगायतका राजदूतले मोदीको आह्वानमा देखाए कोरोनाविरुद्ध एकता


भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आह्वानमा आइतबार राति स्थानीय समय ९ बजे विश्वव्यापी महामारी कोरोनाभाइरसविरुद्धको अभियानमा नेपाललगायत मुलुकका राजदूतहरुले नौ मिनेट मैनबत्ती बालेर ऐक्यवद्धता जनाए ।

भारतका लाखौं नागरिक सहभागी रहेको यस अभियानमा चिनिया राजदूत सुन विइडोङ्ग, अफगानी राजदूत ताहिर कादिरीलगायतले ऐक्यवद्धता जनाएको बताइएको छ ।

राजदूत सुनले ट्विटरमा आफ्नी श्रीमतीका साथ दियो बालेर अभियानमा सरिक भएको तस्वीर राख्दै लेखेका छन्, ‘भारत–चीन महामारीविरुद्धको अभियानमा एकसाथ उभिएका छौं, यस समयमा स्वास्थ्यउपचारमा सरिक सबैमा हाम्रो हार्दिक नमन छ ।’ राजदूत सुनले भारत यस महामारीबाट शीघ्र मुक्त होस् भन्ने कामना पनि गरेका छन् । अफगान राजदूत कादिरीको पनि यस्तै भावना व्यक्त गर्दै ट्विट गरेको र प्रधानमन्त्री मोदीको अभियानमा ऐक्यवद्धता जनाएको उल्लेख गरेका छन् । यसैगरी नेपाल, जापान, पोल्याण्ड, भूटान लगायतका राजदूतहरु पनि सहभागी भएको समाचारमा उल्लेख छ ।

प्रधानमन्त्री मोदीको यस प्रकारको यो दोस्रो आह्वान थियो । पहिलो पटक मार्च २२ मा पनि स्वास्थ्यकर्मीहरुप्रति सम्मान व्यक्त गर्न ताली पिट्ने, थाल ठटाउने र घण्टी बजाउने काम भएको थियो ।

प्रधानमन्त्री मोदीको यस अभियानलाई भारतीयहरुले राष्ट्रिय ऐक्यवद्धता प्रदर्शनको अवसरका रुपमा लिएको पनि बताइएको छ । यद्यपि कांग्रेस आईका केही नेताहरुले भने ‘दियो बालेर कोरोना भाग्दैन, संक्रमितहरु खोज्ने अभियान तीव्र पार’ भन्दै मोदीको आलोचना पनि गरेका छन् । यद्यपि कांग्रेस आईका नेताहरु मोदीको लोकप्रियता बढ्दै गएको देखेर आत्तिएको टिप्पणी भाजपाका नेताहरुको छ ।

प्रधानमन् त्री मोदीको यस अभियानमा बलिउडका चर्चित नायकनायिका पनि सरिक भएको बताइएको छ । यसमा अक्षयकुमार, दीपिका पादुकोण, रजनीकान्त, रणवीर सिंह, अर्जन रामपाल, अनुपम खेर, डेजी शाह, करण जोहर, बरुण धवन, शिल्पा सेठ्ठीलगायत छन् ।

यस अभियानमा लाखौंको सहभागिता भएको भन्दै प्रधानमन्त्री मोदीले सबैलाई धन्यवाद दिंदै यस जटिल र चुनौतीपूर्ण अवस्थामा स्वास्थ्यकर्मी, सुरक्षाकर्मीलगायतले खेलेको भूमिकाको उच्च मूल्यांकन गरेका छन् ।