चिकित्सक र स्वास्थ्यकर्मीको मनोबल बढाउन हातेमालो


नेपाल समाचारपत्र, काठमाडौँ ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले नागरिकका तर्फबाट हुने सहयोगले पनि चिकित्सक र स्वास्थ्यकर्मीको मनोबल बढाउन सहयोग पुग्ने बताउनुभएको छ ।

 

आइतबार स्वास्थ्यतथा जनसंख्या मन्त्रालयमा एनएमबीग्रुप र नेपाल भारत मानवविकास मैत्री संघको तर्फबाट प्राप्त एक हजार थान व्यक्तिगत सुरक्षा सामग्री(पिपिइ) बुझ्दै मन्त्री ढकालले यस्ता सहयोगले चिकित्सक र स्वास्थ्यकर्मीको मनोबल उच्चहुने बताउनुभयो ।

 

उहाँले सरकारले पनि चिकित्सक र स्वास्थ्यकर्मीको मनोबल बढाउन भत्ता, बीमा र सुरक्षाको प्रबन्ध मिलाएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो ‘कोरोनाको लडाइँमा फ्रन्टलाइनमा बसेर कामगर्ने स्वास्थ्कर्मी र चिकित्सकको मनोबल बढाउन यस्ता सहयोगी मन र सामग्रीले बल पुर्याउँछ । सरकारले पनि मनोबल बढाउनका लागि विभिन्न काम गरेको छ।’

 

उहाँले सरकारले एम्बुलेन्स चलाउनेदेखि उपचार कक्षामा रहेर काम गर्ने स्वास्थ्यकर्मीसम्मको मनोबल बढाउन बीमा र भत्ताको व्यवस्था बताउँदै सुरक्षाको पनि उचित प्रबन्ध गरिएको जानकारी दिनुभयो । मन्त्री ढकालले स्वाथ्यकर्मी र चिकित्सकलाइ स्वास्थ्य सामग्री अभाव हुनै नदिने प्रतिबद्धता दोहोर्याउनु भयो ।

एनएमबी ग्रुपले चीनबाट ल्याएको सात सय थानपिपिई हस्तान्तरण गरेको छ भने नेपाल–भारत मैत्री विकास संघले नेपालमै उत्पादन गरेको तीन सय थान पिपिई पनि हस्तान्तरण गरेको छ ।