पर्देशीहरु सोझैघरमा, क्वारेन्टाईनका बेड खाली


घनश्याम बगाले, नवलपरासी ।

 

देशमा कोविड उन्नाईसको संक्रमण देखिएसंगै पूर्वी नवलपरासीका स्थानीय तहमा युद्धस्तरमा खोलिएका क्वारेन्टाईन बेड खाली खाली रहेका छन् ।
विदेशबाट आएकाहरु सरकारी निर्देशन विपरित अन्य समयमा झै सिधै आ–आफ्ना घर गई बसिदिंदा वडावडामा निर्मित क्वारेन्टाईन वेडहरु खाली भएका हुन् ।

कोरोनाको माहामारीसंगै आठ स्थानीय निकाय रहेको यस जिल्लामा पछिल्लो समय विभिन्न राष्टबाट गरी ९ सय ५४ जना नेपाली जिल्ला भित्रिएका छन् ।
जिल्लामा ७ सय ४९ क्वारेन्टाईन बेड बनाइएको भए पनि यहाँ ३५ जना मात्र क्वारेन्टाईनमा बसेको जिल्ला स्वास्थ्य कार्यालय नवलपरासीको तथ्यांड.कले देखाएको छ ।

 

जसमा देवचुली नगरपालिकामा २० जना क्वारेन्टाईनमा बसेका छन भने मध्यविन्दुमा १५ जना रहेका छन् । जस मध्ये १७ जना क्वारेन्टाईन १४ दिने बसाई पछि डिस्चार्ज भएका छन् ।

 

स्वाश्थ्य कार्यालयको आईतबार प्राप्त पछिल्लो विवरण अनुसार होम क्वारेन्टाईनमा गैडाकोटमा ३, देवचुलीमा १, कावासोतीमा १७, मध्यविन्दुमा १८ विनयीमा ३ र हुप्सेकोटमा ६ गरी ४८ जनामात्र अपडेट रहेका छन् ।

 

चौविस ओटा आईसोलेसन बेड भएको पूर्वी नवलपरासीमा देवचुलीमा ४ सय बेड, मध्यविन्दुमा १ सय २६, कावासोतीमा १ सय, गैडाकोटमा ३६, विनयीमा १२, बौदीकालीमा ६२ र हुप्सेकोटमा १३ क्वारेन्टाईन बेड रहेका छन् ।

 

जिल्लामा ६ सय ८८ जनाले ओपिडी सुविधा लिएकोमा ९४ जनामा ज्वरो देखिएको छ । जस मध्ये २ जनालाई कोरोना अस्थाई अस्पताल भरतपुर रेफर गरिएको भए पनि उनीहरुमा कोरोना परिक्षणको नतिजा नेगेटिभ देखिएको थियो ।