कालीगण्डकी बचत तथा ऋण सहकारी संस्थाद्वारा राहत कोषलाई २५ हजार सहयोग

0
Shares

भूपराज बस्याल,स्याङ्जा

स्याङ्जाको गल्याङ नगरपालिका ३, गल्याङबजारमा रहेको कालीगण्डकी बचत तथा ऋण सहकारी संस्थाले गल्याङ नगरपालिकाको राहत कोशमा २५ हजार एक सय पाँच रुपैयाँ सहयोग गरेको छ । संस्थाका अध्यक्ष महेश भट्टराईले संस्थाकै कार्यालयमा यो रकमको चके नगरप्रमुख भुपराज अधिकारीलाई हस्तान्तरण गर्नुभयो ।

चेक रकम ग्रहण गर्दै नगरप्रमुख अधिकारीले विपदमा परेकाहरुलाई सहयोग गर्नका लागि खोलिएको राहत कोशमा रकम जम्मा गरेकोमा कालीगण्डकी बचत तथा ऋण सहकारी संस्थालाई धन्यवाद दिनुभयो । उहाँले सबैको सानो सानो सहयोगले पनि धेरै पिडितहरुको चुलो बल्न सक्ने भएकाले सहयोग गर्न सबैलाई अपिल गर्नुभयो ।

एकद्धार प्रणालीबाट मात्रै सहयोग गर्ने नीति भएकाले गल्याङ नगरपालिकाको राहत कोशमा सक्दो रकम जम्मा गरी सहयोग गर्न उहाँले सबैलाई आह्वान गर्नुभयो । कोरोना भाइरसबाट साबधानी अपनाउन देश लकडाउनको अवस्थामा भएको भन्दै यो कहिले सकिने भन्ने केही टुङ्गो नभएको बताउनुभयो ।

नगरप्रमुख अधिकारीले भन्नुभयो –‘राजनीतिक आन्दोलनको बन्द भए त वार्ता होला, सहज होला भन्ने हुन्थ्यो तर यो विश्वलाई आक्रान्त पारेको कुरा भएकाले सबै उत्तिकै जिम्मेवार र साबधानी हुन जरुरी छ ।’

रकम हस्तान्तरण कार्यक्रममा कालीगण्डकी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष महेश भट्टराईले विपदमा परेकाहरुलाई थोरै भएपनि राहत मिलोस भन्ने हेतुले आफ्नो संस्थाले सहयोग गरेको बताउनुभयो । वडा नम्बर तीनका अध्यक्ष समेत रहनुभएका भट्टराईले सक्दो सहयोग गरेर विपदको सामना गर्ने अभियानमा हातेमालो गर्न सबैलाई आह्वान पनि गर्नुभयो ।