नेपाल समाचारपत्र, काठमाडौं ।
टेकु अस्पतालमा उपचार गराइरहेका कोरोना संक्रमित काठमाडौंकी युवती र धादिङका युवक दुवैको दोस्रो पटकको ल्याब परीक्षणको नतिजा पनि पुनः पोजेटिभ आएको छ ।
संक्रमित युवती चैत ४ गते फ्रान्सबाट कतारको दोहा हुँदै काठमाडौं आएकी हुन् भने युवक चैत ६ गते युनाइटेड अरब इमिरेटस्को सारजहाँबाट काठमाडौं आएका हुन् । उनीहरू दुवैलाई कोभिड–१९ को संक्रमण प्रमाणित भएपछि टेकु अस्पतालमा उपचारार्थ भर्ना गरिएको छ । संक्रमणमुक्त नभए पनि दुवैको स्वास्थ्य अवस्था भने सामान्य रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
पछिल्लो पटक गत मंगलबार खकार संकलन गरी परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाइएको थियो । बुधबार आएको रिपोर्टमा पुनः पोजेटिभ देखिएकाले उपचार अवधि लम्बिएको टेकु अस्पतालका प्रवक्ता डा. अनुप बास्तोलाले बताउनुभयो ।
आजसम्म नेपालमा टेकुबाहेक सेती प्रादेशिक अस्पताल धनगढी र बागलुङ अस्पतालमा गरी थप दुई जना कोभिड–१९ संक्रमित उपचाररत छन् । उनीहरूको पनि दोस्रोपटक नमुना संकलन भइसकेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले जानकारी गराउनुभएको छ । उनीहरूको भने रिपोर्ट आउन बाँकी छ ।
नेपालमा भेटिएका संक्रमित पाँच जनामध्ये एक जना कोरोना भाइरसमुक्त भइसकेका छन् ।











प्रतिक्रिया