आफैं सेनिटाइजर उत्पादन गरी वितरण गर्दै ट्राफिक प्रहरी

0
Shares

काठमाडौँ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले प्राविधिकहरूको सहयोगमा आफैं सेनिटाइजर उत्पादन गरी ट्राफिक प्रहरीहरूलाई वितरण गरेको छ ।

कोरोना भाइरसको संक्रमणलाई मध्यनजर गर्दै डिउटीमा खट्टिएका ट्राफिक प्रहरीहरूलाई महाशाखाका प्रमुख ढकाल आफैँ फिल्डमा गई मास्क र सेनिटाइजर वितरण गर्नुभएको हो ।

विश्वव्यापी रूपमा फैलिइरहेको कोभिड–१९ संक्रमणका कारण बजारमा सेनिटाइजर अभाव देखिएपछि विश्व स्वास्थ्य संगठनले तोकेको निर्देशिकाअनुसार सेनिटाइजर तयार पारिएको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भिम प्रसाद ढकालले बताउनुभयो ।

‘कोरोनाको उच्च जोखिम मोलेरफ्रन्टलाइनमा दैनिक खट्टिनुपर्ने ट्राफिक प्रहरीको सुरक्षाको लागि महाशाखाले प्राविधिकहरूको सहयोग लिई आफैँ सेनिटाइजर उत्पादनगरेको हो ।’ महाशाखाका प्रमुख ढकालले भन्नुभयो- ‘अहिले ३० लिटर उत्पादन गरेका छौं, आवश्यकताअनुसार थप उत्पादन गर्छौ र वितरण गर्छौँ ।’

महाशाखाले आफ्ना प्रत्येक ट्राफिक प्रहरीहरूलाई सेनिटाइजरसँगैमास्क पनि वितरण गरेको छ ।

यस्तो विषम परिस्थितिमा लकडाउन ट्राफिक प्रहरी र देशका लागि नौलो प्रयोग भएकाले चाहिने आवश्यक सबै सुरक्षा सामग्रीको पर्याप्त जोहो गर्न महाशाखाले विभिन्न क्षेत्रसँग सहकार्य गरिरहेको छ ।

नेपाल सरकारद्धारा कोरोना रोकथामका लागि गरिएको लकडाउनलाई कार्यान्वयन गराउन ट्राफिक प्रहरी  फ्रन्टलाइनमा रहेर काम गरिरहेको छ ।