भीडभाड हुने ठाउँमा प्रहरीले राख्यो पानी


काठमाडौं, (नेस)

विश्वमा महामारीको रूपमा फैलिएको नोबेल कोरोना भाइरस (कोभिड–१९) रोकथामका लागि महानगरीय प्रहरी कार्यालय रानीपोखरीले उपत्यकाका बढी भीडभाड हुने र जोखिम बढी हुने १६ स्थानमा सर्वसाधारणलाई हात धुनका लागि साबुनसहित पानी ट्याङ्कीको व्यवस्था गरेको छ।

महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलले वित्तिय संस्थासँगको सहकार्यमा काठमाडौं, ललितपुर र भक्तपुरका बढी भिडभाड हुने स्थानहरूमा पानीट्याङ्की राखिएको जानकारी दिनुभयो।

सरकारले कोरोना भाइरस रोकथामका लागि अत्यावश्यकबाहेक अन्य सेवाहरू बन्द गरी बढी भीडभाड हुन नदिनेलगायतका कार्यहरू सार्वजनिक गरेको अवस्थामा महानगरीय प्रहरी कार्यालयले आफ्नो तर्फबाट सतर्कता अपनाउँदै नागरिक सहजताका लागि उक्त व्यवस्था गरेको उहाँले बताउनुभयो।

साबुन पानीले हात धुने, स्यानीटाईजरको प्रयोग र माक्स लगाएर हिँडेमा पनि केही हदसम्म नियन्त्रण गर्न सकिने विशेषज्ञको रायअनुसार उपत्यकामा सर्वसाधारण नागरिकको सहजताका लागि उक्त कार्य गरिएको बताउँदै उहाँले सार्वजनिक स्थानहरूमा राखिएको साबुन पानीले हात धुन सबैमा आग्रह गर्नुभयो।

प्रहरी कर्मचारीहरूका लागि माक्स वितरण गरिएको समेत उहाँले जानकारी दिनुभयो।

कोरोना भाइरसको महामारी नियन्त्रण नभएसम्मका लागि बढी भिडभाड हुने स्थानहरू रत्नपार्क, बानेश्वर, गौशाला, केएमसी अस्पताल सिनामंगल, महाराजगन्ज चोक, शिक्षण अस्पताललगायतका स्थानहरूमा आइतबारदेखि पानीट्यांकी राखिएको र प्रसूतीगृह थापाथली, टेकु अस्पताल, पाटन अस्पताललगायत ललितपुर र भक्तपुरका बढी भिडभाड हुने र जोखिम बढी हुने स्थानहरूमा सोमबारभित्र राखिने महानगरीय प्रहरी कार्यालय रानीपोखरीले जनाएको छ।