शान्ति सुरक्षामा सम्झौता हुँदैन: महानिरीक्षक ज्ञवाली

0
Shares

काठमाडौं(नेस)
प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीले संगठनले लिएको लक्ष्य र उद्देश्यअनुरूप सुरक्षा व्यवस्थापनलाई अझ सुदृढीकरण गर्दै सबै प्रहरी कर्मचारीले आ–आफ्नो दायित्व पूरा गर्न केन्द्रित हुनुपर्ने बताउनुभएको छ।
आइतबार महानगरीय प्रहरी कार्यालय रानीपोखरी तथा मातहत प्रहरी कार्यालयहरुमा कार्यरत प्रहरी अधिकृतहरुलाई निर्देशन दिँदै उहाँले उक्त कुरा बताउनुभएको हो।
प्रहरी महानिरीक्षक ज्ञवालीले समाजमा शान्ति सुरक्षा कायम गर्दै नागरिकलाई सुरक्षाको अनुभूति गराउनका लागि प्रहरी अझ बढी संवेदनशील एवम् सक्रियरूपमा प्रस्तुत हुनुपर्ने उल्लेख गर्दै आफ्नो मातहतका कर्मचारीको मनोबल उच्च बनाई उत्कृष्ट व्यवहार, क्रियाकलाप, व्यावसायिक दक्षता तथा सीपका साथ कार्य सम्पादन गर्नतर्फ अग्रसर हुनुपर्ने बताउनुभयो।
उपत्याकाको ट्राफिक व्यवस्थापनमा देखिएका चुनौतीको समाधानका लागि त्यसमा संलग्न सबै सरोकारवाला निकायसँग समन्वय र सहकार्य गर्दै अगाडि बढ्नुपर्ने बताउँदै प्रहरी महानिरीक्षक ज्ञवालीले प्रहरीले सबै प्रहरी कर्मचारीले सकारात्मक सोच एवम् उत्कृष्ट व्यवहार र आचरणका साथ नागरिक केन्द्रित सेवा प्रदान गर्नुपर्नेमा जोड दिनुभयो। हुण्डी कारोबारी, कालो बजारी, चोरी निकासीलगायत अन्य आपराधिक गतिविधि नियन्त्रण गरी संलग्न व्यक्तिलाई कानुनी दायरामा ल्याउनका लागि प्रहरी थप सक्रिय हुनुपर्ने उहाँले बताउनुभयो।
प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीले संगठनको श्रीवृद्धि गर्नका लागि सबै प्रहरी कर्मचारीले व्यावसायिक निष्ठाका तथा लगनशीलताको प्रदर्शनी गर्नुपर्ने चर्चा गर्दै संगठनले सुम्पेको दायित्वलाई दृढ संकल्पकासाथ पूरा गर्न उपलब्ध स्रोतसाधनको उच्चतम प्रयोग गर्दै उच्च मनोबलसहित अगाडि बढ्न निर्देशनसमेत दिनुभयो। नेपाल प्रहरीले अंगीकार गरेको समुदाय–प्रहरी साझेदारी कार्यक्रममार्फत नागरिक र प्रहरीको सम्बन्धमा सुधार गर्नुका साथै यस कार्यक्रममार्फत गरिएका गतिविधि अत्यन्तै फलदायी भइरहेको तथा यसको प्रभावकारी कार्यान्वयनमा केन्द्रित हुनुपर्ने उहाँले बताउनुभयो।
उक्त अवसरमा महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलले धन्यवाद ज्ञापन गर्दै प्राप्त निर्देशनहरु अक्षरशः पालन हुने बताउनुभयो। साथै संगठनको लक्ष्य पूरा गर्न महानगरीय प्रहरी कार्यालय रानीपोखरी तथा मातहत प्रहरी कार्यालयहरूमा कार्यरत सबै प्रहरी कर्मचारीले आ–आफ्नो जिम्मेवारी त्रुटिरहित तवरले सम्पन्न गर्नेमा प्रतिबद्धतासमेत उहाँले व्यक्त गर्नुभयो।