दबाबमा जलयात्रा



सप्तकोशीमा सञ्चालन हुँदै आएको पानीजहाज बन्द भएपछि सम्बन्धित सबैमा निराशा छाएको छ। पानीजहाजका कारण पर्यटनमा देखिन थालेको सकारात्मक संकेतहरुमा छायाँ परेको छ।

स्थानीय बासिन्दालाई सप्तकोशीको वारिपारि आउजाउमा समेत समस्या परेको छ। विगत एक वर्षदेखि नियमित रूपमा सञ्चालनमा आएको एक वर्ष पनि नपुग्दै जहाज सञ्चालनमा अवरोध देखिनु सकारात्मक संकेत होइन।

सप्तकोशीमा गत दुई वर्षअघि परीक्षणका रूपमा ७ वटा पानीजहाज सञ्चालनमा आएका थिए। सवारीका साधनमध्ये जल यातायात आर्थिक रूपले किफायती देखिएका सन्दर्भमा यसले स्थानीय जनतामा उत्साह थपेको थियो। पर्यटनको क्षेत्रमा उल्लेख्य सम्भाव्यता बोकेको जल यातायातको भविष्य सुन्दर हुनुको साटो निराशामा परिणत हुने वातावरणले सरकारको लक्ष्यलाई यसले गम्भीर धक्का लागेको महशुस भइरहेको छ।

सरकारले यस वर्षलाई भ्रमण वर्षका रूपमा मनाइरहेको छ। विदेशी तथा स्वदेशी पर्यटकको बिस्तारै मन जित्दै गएको यस्तो जलयात्रालाई विवादमा ल्याउँदा निश्चय पनि पर्यटन वर्षमा केही न केही घाटा हुने नै छ।

यसका अलावा चतराघाटदेखि भोजपुरको हतुवागढीको सिम्लेसम्म दैनिक रूपमा पानी जहाज चढेर विभिन्न ठाउँमा ओहोर–दोहोर गर्नेको दैनिकी पनि दुखद् हुने निश्चित छ।

सप्तकोशीमा पानीजहाज चल्न छोड्नुमा स्थानीयको अवरोध कारण भएको बताइएको छ। जल यातायात महासंघका अनुसार स्थानीय केही समूहले रकम माग्ने, निःशुल्क चढ्न पाउनुपर्ने, टिकटमा कमिसन दिनुपर्नेलगायतका माग राखेपछि सातवटै पानीजहाज चलाउन बन्द गर्नुपरेको हो। कुनै पनि योजना अघि सारिएपछि सर्वप्रथम स्थानीय जनतालाई सुविधा दिने विषयमा अध्ययन गर्नुपर्छ।

के गर्दा स्थानीयवासीलाई खुसी पार्न सकिन्छ भनेर सम्बद्ध योजनाकारले कार्ययोजना अघि बढाउनुपर्छ। योजनामा स्थानीयवासीलाई केही न केही सहुलियत दिने परम्परा पनि छ। तर, योजनाले धान्नै नसक्ने गरी माग राख्ने, जथाभावी रकम माग्ने, आफूलाई निःशुल्क रूपमा सेवा प्रदान गर्नुपर्नेजस्ता माग निश्चय पनि जायज हुन सक्दैन। केही सहुलियत स्वाभाविक हुनसक्छ, तर त्यो कठोर बनाइनुहुँदैन।

हाम्रोजस्तो पानीको अथाह स्रोत भएको देशमा जल यातायातको विकास हुँदै जानुपर्नेमा भएको पनि बन्द हुने वातावरण बन्नु लाजमर्दो विषय हो। यस तथ्यलाई पानी जहाज सञ्चालक तथा स्थानीय नागरिकले महत्व दिनुपर्छ।

कुनै ठाउँमा पानीजहाज चलेका कारण स्थानीय जतताले शुल्कमा सहुलियत खोज्नु प्रत्यक्ष र तत्कालीन लाभको चाहना हो। तर पानीजहाजका कारण त्यस क्षेत्रमा पर्यटक बढे भने प्रसिद्धि र आर्थिक समृद्धिको द्वार एकसाथ खुल्छ भन्ने पक्षलाई बिर्सनुहुन्न।

पानीजहाज चढ्नका लागि रकम तिर्न नसक्नेका लागि स्थानीय तहको सिफारिसमा सुविधा प्रदान गर्ने, केही रकम उठाएर स्थानीय क्षेत्रको विकासमा लगाउनेजस्ता माग जायज हुन सक्लान्, तर परियोजना नै बन्द हुुने गरी रकम माग्नु कुनै हिसाबले पनि उचित मान्न सकिँदैन। यस समस्यालाई सहज रूपमा सल्टाएर चाँडोभन्दा चाँडो सप्तकोशीमा पानी जहाज चलाउने वातावरण बनाउन सम्बन्धित सबैले पहल गर्नु आवश्यक छ।

प्रतिक्रिया दिनुहोस्