पर्वतको एउटै गाउँबाट चार करोडको सुन्तला बिक्री



न्युज अफ नेपाल, पर्वत ।

पर्वतको बाँसखर्क गाउँका किसानले यो बर्ष मात्रै करीब ४ करोड रुपैयाँको सुन्तला विक्री गरेका छन् । पश्चिम क्षेत्रमा नै स्वादिलो सुन्तला फल्ने उत्तरी पर्वतको जलजला गाउँपालिकामा २ सय भन्दा बढी कृषकले यो बर्ष ४ करोड रकम सुन्तला बिक्रीबाट गाउँमा भित्र्याउन सफल भएका हुन ।

यस बर्ष सुन्तलामा कुनै प्राकृतिक प्रकोप र रोग किराको पनि प्रकोप नपरेपछि सुन्तला उत्पादन बढेको बजारमारे सुन्तला उत्पादन सहकारी संस्था बाँसखर्कका अध्यक्ष जगतबहादुर खत्रीले बताउनुभयो । ‘यो बर्ष गत बर्ष भन्दा सुन्तला उत्पादन बढेको छ’ उहाँले भन्नुभयो ‘घर बगैचाबाटै राम्रो मुल्यमा बिक्री गर्न सफल भएका छौ।’ उहाँले भन्नुभयो ।

किसानले बोटबाटै प्रतिकिलो १०५ देखि १२० रुपैयाँसम्ममा सुन्तला विक्री आएका छन । बाँसखर्कमा उत्पादित सुन्तला पोखरा, काठमाडौं, बुटवल लगायत बजारमा बिक्री हुँदै आएको छ । बाँसखर्कमा माघको अन्तिम साता मात्रै टिप्न शुरु हुन्छ । अन्यत्र मंसिरमा सुन्तला टिपी सक्छन तर यहाँ गर्मी शुरु भएपछि मात्रै सुन्तला टिप्ने भएका कारण पनि बढी माग हुने गरेको छ । ‘ढिलो गरी पाक्ने र स्वादिलो हुने भएकाले यहाँको सुन्तलाको माग सबैभन्दा उच्च छ’ अध्यक्ष खत्रीले भन्नुभयो ।

बाँसखर्कमा अन्य खाद्यान्न र फलपूmल उत्पादन हुँदैन । धान, कोदो र मकैभन्दा सुन्तलाबाट बढी फाइदा हुने भएपछि किसानले सुन्तलाखेती प्रवद्र्धन गरेका छन् । गाउँमा खेतबारी तथा पाखाहरुमा सुन्तला रोप्ने अभियान चलाएका छन । काम नलाग्ने रुख हटाएर सुन्तला रोप्न थालेको धेरै भैसकेको छ । धान,मकै, कोदो भन्दा सुन्तला बढी उत्पादन हुने र रकम पनि नगदमा पाउने भएकाले सुन्तला नै रोजाईमा परेको अगुवा कृषक ख्यामबहादुर खत्रीले बताउनुभो । यहाँ बार्षिक २ लाख रुपैयाँभन्दा थोरै कमाउने कृषक नै भेटिदैनन ।

सुन्तलाको व्यवस्थित बजारीकरणका लागि किसानकै अग्रसरतामा हालै ६७ लाख खर्चिएर शीतभण्डार केन्द्र सञ्चालन गरिएको छ । शीतभण्डार सञ्चालन भएपछि किसानलाई सुन्तला भण्डारण गर्न र ‘अफ सिजन’मा विक्री गर्न सहज भएको स्थानीय कल्पना खत्रीले बताउनुभयो । किसानले गे्रडिङमा नपरेका साना दानाबाट जुस बनाएर पनि आम्दानी लिँदै आएका छन् ।

सुन्तलाखेतीका लागि उपयुक्त माटो तथा हावापानी भएकाले बाँसखर्कमा वर्षेनी यसको क्षेत्रफल र कृषकको संख्या समेत बढेको छ । गतवर्षसम्म १ सय ६१ परिवारले मात्रै व्यावसायिक सुन्तलाखेती गर्दै आएको यो गाउँमा अहिले २ सय १० परिवार आबद्ध भएको कृषि ज्ञानकेन्द्रका प्रमुख वासुदेव रेग्मीले जानकारी दिनुभयो ।

पछिल्ला केही वर्षयता सुन्तलाखेतीमा सुधार, रोगकीराको नियन्त्रण, क्षेत्रफल विस्तार, आधुनिक उपकरण र अनुदानका कार्यक्रम थपिँदै गएपछि किसान पनि उत्साहित भएका छन् । गाउँमा सडक पुगेकाले किसानलाई ढुवानीका लागि समस्या छैन ।

प्रतिक्रिया दिनुहोस्