प्रहरी रोक्ने, घरपरिवार बालविवाह गर्ने



नेपाल समाचारपत्र, बाँके।

बाँकेको पुरैनामा दुई हप्तामा सातवटा बालविवाह रोकियो। बाल क्लब, किशोरी सञ्जाल र संघ संस्थामा काम गरेका स्थानीयको सूचनाका आधारमा प्रहरीले बालविवाहमा हस्तक्षेप गरेको थियो। विवाहमा प्रहरीले हस्तक्षेप गरेपछि स्थानीय बेखुसी भए।

गाउँमा अझै दुईजनाको बालविवाह हुँदै गरेको सूचना आइसकेको छ। स्थानीयले १६ वर्षमै विवाह गरिदिने अडान कसिरहेपछि आइतबार नगरस्तरीय बाल अधिकार समितिले पुरैनामा स्थानीयवासीसँग छलफल गरेको छ।

नेपालगञ्ज उपमहानगरपालिकाका उपमेयर उमा थापामगर, डीएसपी शिवबहादुर सिंह, वडाध्यक्ष रञ्जित खाँलगायत स्थानीय अगुवा, मौलानाहरूको उपस्थिति रहेको कार्यक्रममा अधिकांशले १६ वर्षमै विवाह गर्ने अडान छोड्न सकेनन्।

उपमेयर थापा, डीएसपी सिंह, वडाध्यक्ष खाँले कानुनअनुसार नै २० वर्ष उमेर पुगेपछि विवाह गर्नुपर्ने र नत्र कारबाही हुने बताइरहँदा धेरै स्थानीयले बीचैमा बोल्दै त्यसको प्रतिकार गरे। छोरीलाई २० वर्षसम्म राख्दा भागेर विवाह गर्ने चुनौती रहेको स्थानीयले पटकपटक दोहोर्याएका थिए।

मौलाना (मुस्लिम धर्मगुरु) शेर अलीले १६ वर्षमै विवाह गर्नुपर्ने बताउनुभयो। स्थानीयवासी जाकिर अलि मनिहार, सोहन यादव, सोफेल दर्जीलगायतले छोरीको विवाह १६ वर्षमै गरिनुपर्ने जिकिर गर्नुभयो।

उपमेयर थापा, डीएसपी सिंह, वडाध्यक्ष खाँ, किशोरी क्लबकी पूजा बर्माले छोरीलाई पढाउनुपर्नेमा जोड दिनुभयो। उपमेयर थापाले छोरीलाई बोझको रूपमा नलिइदिन आग्रह गर्नुभयो। ‘छोरीलाई पढाउनुहोस्। सरकारले निःशुल्क पढाइदिन्छ।

पढेपछि आफ्नो खुट्टामा उभिन्छन्’, उपमेयर थापाले भन्नुभयो– ‘छोरीलाई पढाउन स्थानीय सरकारले के गर्नुपर्छ योजना ल्याउनुहोस्। हामी त्यो सहयोग गर्न तयार छौं।’

नेपालगन्जमा बालविवाहविरुद्ध कडाइ गरेपछि कतिपय अभिभावकले भारतमा लगेर विवाह गराइदिने गरेको पाइन्छ। किशोरी क्लबकी बर्माले आफ्नो पनि बालविवाह गराइदिने घरपरिवारको चाहनाविपरीत आफू पढ्न अघि बढेको बताउनुभयो।

बाँकेमा केही महिनादेखि एकथरीले १६ वर्षमा विवाह गर्न पाउनुपर्छ भन्ने आन्दोलन चलाइरहेका छन् भने अर्कोले कानुनविपरीत आवाज उठाउनेलाई कारबाही हुनुपर्ने माग गर्दै आएका छन्।

केही दिनअघि मात्रै नेपालगन्जको धम्बोझीमा १६ वर्षमा विवाह गराउन पाउनुपर्छ भन्ने आन्दोलनको अगुवाइ गरेका रामदेव मिश्र र फूलमति पाललाई प्रहरीले पक्राउ गरेको थियो। नेपालको कानुनमा बालविवाह गर्नेलाई तीन वर्षसम्म कैद र पुरोहितलाई समेत डेढ वर्षको सजाय तोकिएको छ।

प्रतिक्रिया दिनुहोस्