काय्गुननिमा कलात्मक मंकाः छेँ

‘अमूर्त संस्कृति सञ्चालनमा टेवा’



न्यूज अफ नेपाल, ललितपुर ।

ललितपुर महानगरपालिका-१६ कायगुननि स्थित मंकाः छेँ को पुनःनिर्माण कार्य सम्पन्न भएको छ ।

डेढ वर्षको भित्रमा सो मकां छेँको पुनःनिर्माण भएको हो । दाँची इँटा र मल्लकालीन वास्तुशैलीमा बनाइएको सो भवन साढे दुई तल्लाको रहेको छ ।
भवनको पुनःनिर्माणमा करिब ७० लाख रुपैयाँ खर्च भएको मंका खलःले जनाएको छ । कुल लागत मध्ये ललितपुर महानगरपालिकाबाट २८ लाख ५० हजार रुपैयाँ, १६ वडाबाट २५ लाख, ललितपुर क्षेत्र नं २ का संघीय सांसद् कृष्णलाल महर्जनको निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमबाट १० लाख रुपैयाँ व्यहोरिएको थियो । बाँकी रकम विभिन्न दाता, संघ संस्थाबाट जुटाइएको खलःका कोषाध्यक्ष हरिगोविन्द महर्जनले जानकारी दिनुभयो ।

पाटनमा नेवाः समुदायभित्र ज्यापूहरुको बाहुल्यता रहेका ४० परम्परागत टोलमध्ये काय्गुननि एक हो । मंका खलःकुनै लिखित विधि विधान भन्दा पनि सामाजिक मूल्य, मान्यता र व्यवहारद्वारा सञ्चालन हुने परम्परागत संगठन हो ।

धिमे, बाँसुरी लगायत परम्परागत बाजाको प्रशिक्षण, नामसंगीति पाठ, दाफा भजन गर्ने, विभिन्न पुजाआजा र जात्रापर्व सञ्चालनका लागि मकां छेँको प्रयोग गर्ने गरिन्छ । भवनको पुन: निर्माणले अमूर्त संस्कृति संरक्षणमा ठूलो टेवा पुगेको मंकाः खलका अध्यक्ष समतलाल महर्जनले बताउनुभयो ।

सो मंका छेँको १९२ वर्ष अघि (नेपाल संवत् ९४८) मा निर्माण शुरु गरिएको थियो । त्यसको ६ वर्ष वर्षपछि निर्माण कार्य पुरा भएको त्यहाँ रहेको दुई वटा शिलापत्रमा उल्लेख गरिएको खलका सदस्य रविन महर्जनले जानकारी दिनुभयो ।

मंकाः छेँको उद्घाटन

मंकाछेँको हालै एक समारोहकाबीच महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले उद्घाटन गर्नुहुँदै मंका छेँको पुनःनिर्माणले काय्गुननि टोलको आकर्षण बढाएको धारणा राख्नुभयो ।

सो अवसरमा १६ वडाका वडाअध्यक्ष निर्मलरत्न शाक्यले मंका छेँको पुनःनिर्माणबाट भाषा, संस्कृति र कलाको संरक्षणमा ठूलो टेवा पु¥याउने विश्वास व्यक्त गर्नुभयो ।

सो समारोहमा १६ वडाका सदस्य एवं खलका सदस्य विजय महर्जनले अमूर्त संस्कृति संरक्षणलाई संघ, प्रदेश र स्थानीय तहले प्राथमिकतामा राख्नुपर्ने बताउँदै क्षतिग्रस्त सम्पदा, विहार र मंकाः छेँको पुनःनिर्माण कार्यलाई तत्काल अघि बढाउनुपर्नेमा जोड दिनुभयो ।

सो अवसरमा काय्गुननिको ईतिहास र परिचय समेटिएको स्मारिका विमोचन गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्