‘हात्तीपाइलेको औषधी खानै मान्दैनन्’



नेपाल समाचारपत्र, लमजुङ। 

सरकारले सन् २०२० मा हात्तीपाइले रोगको निवारण गर्ने लक्ष्य लिए पनि लमजुङमा भने हात्तीपाइले रोगका बिरामीको संख्या अत्याधिक रहेको छ। छिमेकी जिल्लाहरू गोरखा, तनहुँ, कास्कीलगायतका जिल्लाहरूमा हात्तीपाइले रोग निवारण हुँदा लमजुङमा भने हात्तीपाइले रोगका बिरामीको संख्या भयावह अवस्थामा रहेको छ।

जिल्लामा हात्तीपाइले रोग निवारणको औषधि खुवाउन थालेको ११औं वर्ष हुँदासमेत जिल्लामा हात्तीपाइले रोगका बिरामी ठूलो संख्यामा रहेको पाइएको छ। जिल्ला स्वास्थ्य कार्यालय लमजुङको आर्थिक वर्ष २०७५ को तथ्याङ्कअनुसार लमजुङमा हालसम्म १ सय ३८ जनामा हात्तीपाइले रोगका बिरामी रहेका छन्। जसमा ३९ जनाको खुट्टा सुन्निएको, ९० जनाको हाइड्रोसिल र ९ जनामा अन्य हात्तीपाइले रोगका लक्षण रहेको पाइएको जिल्ला स्वास्थ्य कार्यालय लमजुङका प्रमुख अमर दवाडीले जानकारी दिनुभयो।

लमजुङको राइनास नगरपालिकाको धमिलीकुवा र भलायखर्कमा हात्तीपाइले रोगका बिरामी अत्याधिक रहेको छ। यस नगरपालिकामा मात्रै १ सय १५ जनामा हात्तीपाइले रोगका लक्षण भएका बिरामी रहेको स्वास्थ्य कार्यालय लमजुङले जनाएको छ। जसमा ३० जनामा खुट्टा सुन्निने, ७६ जनामा हाइड्रोसिल र ९ जनामा यौनाङ्ग सुन्निनेलगायतका लक्षण रहेको कार्यालयका प्रमुख दवाडीले जानकारी दिनुभयो।

त्यसै गरी बेंसीशहर नगरपालिकामा ८ जना, सुन्दरबजार नगरपालिकामा ९ जना, मध्यनेपाल नगरपालिकामा २ जना, दोर्दी गाउँपालिकामा २ जना, क्योलासोथर गाउँपालिका र मस्र्याङ्दी गाउँपालिकामा १÷१ जना हात्तीपाइले रोगका लक्षण रहेका बिरामी रहेका छन् भने दूधपोखरी गाउँपालिकामा एक जना पनि हात्तीपाइले रोगका बिरामी नभएको कार्यालयले जनाएको छ।

कार्यालयले आइतबार बेंसीशहरमा पत्रकार अन्तरक्रिया कार्र्यक्रम गरी माघ २५ गते सरकारले देशका १३ जिल्लामा हात्तीपाइले निवारणको औषधि खुवाउने कार्यक्रमअन्तर्गत लमजुङ पनि रहेको बताएको हो।

कार्यक्रममा स्वास्थ्य कार्यालयका प्रमुख अमर दवाडीले छिमेकी जिल्ला गोरखा, तनहुँ, कास्कीलगायतका जिल्लामा हात्तीपाइले रोग निवारण भइसक्दासमेत लमजुङमा भने एक सय ३८ भन्दा बढीमा हात्तीपाइले रोगका बिरामी रहेको भन्दै चिन्ता व्यक्त गर्नुभयो। ‘बुुझ्नेले त खाँदैनन् हात्तीपाइले रोगका औषधि अनि कसरी जिल्लाबाट हात्तीपाइले रोग निवारण गर्न सकिन्छ र?’ –स्वास्थ्य प्रमुख दवाडीले प्रश्न गर्नुभयो।

सन् २०२० मा हात्तीपाइले रोग निवारण गर्ने सरकारको लक्ष्य रहे पनि सवैले हात्तीपाइले रोगका औषधि नखाइदिनाले त्यसो हुन नसकेको स्वास्थ्यकर्मीहरूको भनाइ छ। लमजुङमा हात्तीपाइले रोग निवारणका औषधि खुवाउने अभियान चलेको ११ वर्ष भइसक्दा समेत हात्ती पाइले रोगका बिरामीको संख्या घट्ने क्रमभन्दा बढ्दो अवस्थामा रहेको स्वयम् स्वास्थ्यकर्मीको भनाइ छ।

प्रमुख जिल्ला अधिकारी लक्ष्मण खड्काले कुनै पनि अभियान होस् या कुनै पनि कुरा सफल हुन आन्तरिक र बाह्य कारण रहेको भन्दै लमजुङमा हात्तीपाइले रोगका बिरामीको संख्या भयावह अवस्थामा रहनु लाजमर्दो र दुःखको कुरा रहेको बताउनुभयो।

हात्तीपाइले रोगका बिरामीको संख्या अत्याधिक हुनुमा जिल्ला स्वास्थ्य कार्यालयको कमजोरी रहेको भन्दै आम जिल्लावासीलाई हात्तीपाइले रोगको औषधि खुवाउने अभियानमा सबैलाई सरिक हुन आग्रहसमेत गर्नुभयो।

प्रतिक्रिया दिनुहोस्