औद्योगिक विकासका लागि प्रदेश सरकारले सघाउने

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं

प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले निजी क्षेत्रसँगको साझेदारीलाई थप प्रभावकारी बनाउन कानुनी सुधारदेखि उद्योगका लागि आवश्यक पूर्वाधार निर्माणमा सघाउन तयार रहेको बताउनुभएको छ।

नेपाल उद्योग परिसंघमा उद्योगी तथा लगानीकर्तासँग अन्तक्र्रिया गर्दै मुख्यमन्त्री पोखरेलले उद्योगका लागि आवश्यक जग्गा तथा ऊर्जा उपलब्ध गराउन प्रदेश सरकार तयार रहेको बताउनुभयो। मोतिपुर कोरिडोर, बाँकेको नौबस्ता र दाङमा जग्गा अधिग्रहण भइसकेकाले लगानी परियोजना आए तत्काल जग्गा उपलब्ध गराउन तयार रहेको पनि बताउनुभयो।

मुख्यमन्त्री पोखरेलले वैशाखमा आयोजना हुने लगानी सम्मेलनमा प्रस्तुत हुने परियोजना विकासको चरणमा सहकार्य गर्न पनि परिसंघलाई आग्रह गर्नुभयो। सिमेन्ट उद्योगको क्षमता विस्तार गर्न, कृषिजन्य उद्योग स्थापना गर्न तथा वनजन्य कच्चापदार्थ उपयोग गर्ने गरी कागज उद्योग स्थापनाको प्रस्ताव ल्याउन पनि लगानीकर्तालाई आग्रह गर्नुभयो।

भैरहवा विमानस्थलसँग जोडेर पर्यटन पूर्वाधार लगानी विस्तारतर्फ सहकार्य गर्न पनि मुख्यमन्त्री पोखरेलले आग्रह गर्नुभयो। सो अवसरमा मुख्यमन्त्री पोखरेललाई परिसंघमा स्वागत गर्दै परिसंघका अध्यक्ष सतिशकुमार मोरले उद्योग तथा लगानीमैत्री वातावरण सिर्जना गर्न मुख्यमन्त्रीले लिएका पहलमा परिसंघले सघन सहकार्य गर्ने बताउनुभयो।

अध्यक्ष मोरले प्रदेश ५ को सरकारले आगामी वैशाखमा आयोजना गर्नेे लगानी सम्मेलनमा सक्रिय सहभागिता जनाउने जानकारी पनि मुख्यमन्त्री पोखरेललाई गराउनुभयो। अध्यक्ष मोरले प्रदेश सरकारले लगानी तथा औद्योगिकीकरणमा लिएको उत्तरदायित्वले लगानीकर्ताका लागि सकारात्मक वातावरण बन्दै गएको बताउनुभयो।

प्रदेशस्तरमा निजी सार्वजनिक साझेदारीका नमुना परियोजना पहिचान तथा विकासमा परिसंघले थप सहकार्य गर्ने पनि अध्यक्ष मोरले उल्लेख गर्नुभयो।

सो अवसरमा परिसंघका उपाध्यक्ष राजेश अग्रवाललले ५ नम्बर प्रदेशमा खुलेका सिमेन्ट उद्योगलाई आवश्यक विद्युत् अपुग रहेकातर्फ मुख्यमन्त्री पोखरेलको ध्यानाकर्षण गराउनुभयो।

छलफलमा सहभागी परिसंघको विभिन्न उद्योग लगानी प्रर्वद्धनसँग सम्बन्धित समितिका अध्यक्षले लगानी सम्मेलनमा उद्योगमैत्री कानुन निर्माण तथा नयाँ लगानीकर्ताका लागि आकर्षक प्याकेज प्रस्तुत भए ५ नम्बर प्रदेश लगानी गन्तव्य हुन सक्ने धारणा राखेका छन्।