नेपालगन्ज उद्योग वाणिज्य संघमा चुन्ना

0
Shares

नेपाल समाचारपत्र, बाँके

नेपालगन्ज उद्योग बाणिज्य संघको अध्यक्षमा अब्दुल वाहिद मन्सुरी (चुन्ना) विजयी हुनुभएको छ। प्रतिद्वन्द्वी ललित रौनियारलाई पराजित गर्दै उहाँ निर्वाचित हुनुभएको हो। चुन्नाले १ हजार ५ सय १० मत ल्याउँदा रौनियारले १ हजार २ सय ३४ मत प्राप्त गर्नुभएको थियो।

संघको उपाध्यक्षमा आदेश अग्रवाल (उद्योग) र अमित बस्नेत (बाणिज्य) विजयी भएका छन्। अग्रवालले तपेन्द्र शाह र अमितले ज्ञानेन्द्र श्रेष्ठलाई पराजित गरेका हुन्।
सदस्यमा मन्दिर पाण्डे, श्यामसुन्दर अधिकारी र चिरञ्जीवी ओली, विजय भण्डारी (बासु), टंकप्रसाद शर्मा, टंकबहादुर धामी, विष्णुप्रसाद श्रेष्ठ, धर्मराज अर्याल, हरिलाल न्यौपाने, भीमबहादुर रानाभाट, टेकबहादुर खड्का र बिन्दु चर्तीमगर विजयी भएका छन्।

त्यस्तै एसोसिएट सदस्यमा सञ्जय अग्रवाल र दीपेन्द्र विष्ट विजयी भएका छन्। सम्बद्धको सदस्यमा सलाउद्दिन जसगढ विजयी भएका छन्। संघको चुनावमा दुई वटा प्यानलले प्रतिस्पर्धा गरेका थिए। अध्यक्षमा निर्वाचित चुन्नाको प्यानल बहुमतसहित विजयी भएको छ। अध्यक्ष, एक उपाध्यक्ष, १२ जनामा ८ सदस्य समावेशी प्यानलले जितेको छ।

राति सवा १२ बजे नतिजा आएको थियो। सोमबार दिउँसो विजेताले बाजासहित विजयी जुलुस निकालेका छन्। समावेशी प्यानलका संरक्षक दामोदर आचार्य, विजेता र समर्थक विजयी जुलुसमा थिए। जुलुसले बजार परिक्रमा गरेको थियो। अध्यक्षमा विजयी भएपछि चुन्नाले व्यावसायिक हित र सबैलाई समेटेर अघि बढ्ने बताउनुभयो।