पर्यटकको मृत्युमा थाहा नगरको शोक

0
Shares

हेटौंडा, (नेस)।

थाहा नगर–४, सीमभञ्ज्याङस्थित एभरेस्ट पानोरमा होटलमा भारतीय पर्यटकको निधनप्रति थाहा नगरपालिकाले शोक व्यक्त गरेको छ। भारतको केरलाबाट दामन घुम्न आएका पर्यटकमध्ये ८ जनाको मृत्यु भएको घटनाले थाहानगर गम्भीर भएको विज्ञप्तिमा भनिएको छ।

होटलमा बास बस्ने क्रममा राति हिटर बालेर सुतेका ८ जना पर्यटकको निसास्सिएर मृत्यु भएको घटनाले थाहा नगरपालिका परिवार मर्माहत र स्तव्ध भएको नगर प्रमुख लवशेर विष्टले भनेका छन्।

उक्त घटनामा ४ जना बालबालिकासहित ८ जनाको असामयिक निधनले नगरपालिका ज्यादै दुखित र मर्माहत भएको विज्ञप्तिमा उल्लेख गरिएको छ।

विज्ञप्तिमा दिवंगत आत्माको चीरशान्तिको कामनासहित शोकाकुल परिवारजनप्रति समवेदना व्यक्त गरिएको छ।नेपाल भ्रमण वर्ष मनाइरहँदा पर्यटक सेवाप्रदायक निकायले सावधानी अपनाउनु जरुरी रहेको उक्त घटनाले पाठ सिकाएको थाहा नगरवासी बताउँछन्।

दामनपालुङ क्षेत्र चर्को गर्मी मौसममा पनि चिसो हुने भएकाले बढी भारतीय पर्यटक आउने गरेका छन्। ८ हजार मिटरभन्दा अग्ला ८ वटा हिमश्रृंखला एक स्थानबाट अवलोकन गर्न सकिने भएका कारण दामन आउने पर्यटकको संख्या बढी हुने गरेको छ।