स्याङ्जामा लाटोकोसेरो महोत्सव हुने

0
Shares

अमृत अर्याल, स्याङ्जा।

पर्यावरण संरक्षक लाटोकोसेरोलाई जोगाउन स्याङ्जामा लाटोकोसेरो महोत्सव हुने भएको छ।मानिसका नजिकको मित्र मानिएको लाटोकोसेरोको चोरी सिकारी एवं अवैध व्यापार न्यूनीकरण गर्ने उद्देश्यले स्याङ्जामा यही माघको २४ र २५ गते लाटोकोसेरो तथा हुचील महोत्सव गर्न लागिएको हो।

स्याङजाको पुतलीबजार नगरपालिका २ र बिरुवा गाउँपालिका ३ को सीमास्थल राङभाङमा महोत्सव गर्ने तयारी सुरु भइसकेको पत्रकार सम्मेलनमार्फत् आयोजकले जानकारी दिएको छ।

राङभाङ क्लब, मिलेनियम ट्रेक व्यवस्थापन समिति र प्रकृतिका साथीहरू नामक संस्थाको संयुक्त आयोजनामा यहाँ नवौं उत्सव हुने भएको क्लबका अध्यक्ष बालकुमार गुरुङले जानकारी दिनुभयो।

स्थानीय संस्कृति, खेलकुद, पर्यावरण संरक्षण र मनोरञ्जनसहितको उत्सव हुने आयोजकले जनाएका छन्। हुचिल लाटोकोसेरो प्रजातिमध्येको एक पन्छी हो।विश्वमा पाइने लाटोकोसेरोको प्रजातिमध्ये करिब १० प्रतिशत नेपालमा वासस्थान छ। २ सय २५ प्रजातिका लाटोकोसेरोमध्ये २३ प्रजातिका लाटोकोसेरो नेपालमा पाइन्छन्।

त्यसमा पनि ८ प्रजातिका लाटोकोसेरोहरू चोरी शिकारी र अवैध कारोबारका कारण राष्ट्रियस्तरमै दुर्लभ छन्।लाटोकोसेरोको एउटा प्रजाति १९ औं शताब्दीपछि देखिन छाडेका प्रकृतिका साथीहरूका कार्यकारी निर्देशक राजु आचार्यको भनाइ छ।

सन् २००६ देखि अमेरिकाको हस्टन, मिनिसोबाट लाटोकोसेरोको उत्सव मनाउन थालिएको भए पनि नेपालमा भने सन् २०१२ देखि प्रत्येक वर्ष फरक फरक जिल्लामा मनाइँदै आएको आचार्यले जानकारी दिनुभयो।

हालसम्म धादिङ, चितवन, नवलपरासी, गोर्खा, कास्की, कपिलवस्तु, दोलखा र खोटाङ गरी ८ जिल्लाका विभिन्न स्थानमा लाटोकोसेरो उत्स सम्पन्न भएका छन्। स्याङ्जामा भने यो महोत्सव पहिलो भएको बताइएको छ।महोत्सवमा झन्डै १५ लाख खर्च हुने र १० हजार व्यक्ति प्रत्यक्ष साक्षात्कार हुने अपेक्षा गरिएको छ।

महोत्सवमा विभिन्न १० वटा स्टल रहने र विभिन्न विज्ञ समूहसमेत सहभागी हुने भएका छन्।लाटोकोसेरो संरक्षण शिविर, अन्य चराको अवलोकन, विद्यालयस्तरीय लाटोकेसेरोसम्बन्धी कविता, कथा, निबन्ध, चित्रकला प्रतियोगिता, डकुमेन्ट्री प्रदर्शन, १० जना संरक्षणविद् तथा राजनीतिज्ञबाट प्रवचन, हराउन थालेका स्थानीय सांस्कृतिक एवं खेलकुद कार्यक्रम, लाटोकोसेरो संरक्षणमा चासो जगाउन र अवैध व्यापारका बारेमा सचेतना कार्यक्रम एवं अस्थायी संग्रहालयको स्थापना, लाटोकोसेरोसम्बन्धी रोबोर्ट प्रर्दशनी, उनीहरूका आवाज एवं गीत, अध्ययन अनुसन्धान सामग्री तथा लाटोकोसेरोको गुँडको प्रदर्शन गरिने पत्रकार सम्मेलनमा जानकारी दिइएको हो।

यसको संरक्षणमा उल्लेखनीय भूमिका खेल्ने केही व्यक्तिहरूलाई सम्मान गरिने आयोजकले जनाएको छ।पिछडिएको चरा र राज्यको लगानी शून्य रहेको लाटोकोसेरोका विभिन्न ५ प्रजाति राङभाङमा भएका कारण सोही स्थलमा उत्सव गरिने भएको हो। उत्सव संचालनका लागि, पर्यटन बोर्ड, पुतलीबजार नगरपालिका र बिरुवा गाउँपालिका, डिभिजन वन कार्यालय, स्थानीय क्लब, आमा समूह लगायतको सहयोग रहेको छ।

पत्रकार सम्मेलनमा बिरुवा गाउँपालिकाका अध्यक्ष चुनप्रसाद शर्मा, पुतलीबजार नगरउपप्रमुख महेश पुरी, पत्रकार महासंघका अध्यक्ष ओमप्रकाश शर्मा, पर्यटन समिति गण्डकी प्रदेश सदस्य अनन्तकुमार श्रेष्ठ, मिलेनियम ट्रेकका अध्यक्ष नवीन गुरुङ लगायतले उत्सवलाई भव्यताका साथ सम्पन्न गर्न सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो। यस्ता उत्सव तथा महोत्सव अमेरिका, इटाली, नेपाल र गत वर्षदेखि भारतमा मात्र हुने गरेको बताइएको छ।