बझाङमा भारी हिमपात, विद्युत र यातायात पूर्ण रुपमा बन्द

0
Shares

ललित सिंह, चैनपुर बझाङ ।

एक साता देखि परेको झरी र हिमपातका कारण बझाङको जनजिवन प्रभावित बनेको छ । जिल्लाका अधिकांश बस्तीहरु हिउँले ढाकीएका छन् । हिमपात र बर्षातका कारण जिल्लाको टेलिफोन सेवा,बिद्युत सेवा तथा ईन्टरनेट सेवा समेत पूर्ण रुपले अवरुद्ध भएपछि जिल्लाको जनजिवन अस्तब्यस्त भएको हो । साथै यातायात सेवा पनि अवरुद्ध भएपछि आवत जावतमा समेत समस्या परेको छ ।

बिहिवार देखि लगातार आएको बर्षा र छिनछिनमै पर्ने हिउँपात तथा बर्षाका कारण चिसोले जन जिवन कस्टकर बनेको छ । जिल्लामा संञ्चालित ८ वटा एफएम रेडियोका सोलार पाताहरु चार्ज नहुँदा बन्द भएका छन् । साथै बिद्युत सेवा प्रवाह नभएपछि जिल्लाका रहेका सरकारी तथा गैर सरकारी कार्यालयहरुको काम काज समेत कम्युटर नचल्दा बन्द भएको छन् । सेवाग्राही समेत नआएपछि जिल्लाका अधिकांश सरकारी कार्यालयका कर्मचारीहरु आगो बालेर बसि रहेका छन् । एक साता देखि ईमेल ईन्टरनेट सेवा समेत अबरुद्ध भएपछि बैङ्किङ सेवा समेत पुर्ण रुपमा बन्द राष्ट्रिय बाणिज्य बैङ्कका प्रबन्धक प्रकाश बिष्टले बताउनुभयो । उहाँले भन्नुभयो सबै कारोबार ईमेल ईन्टरनेट नभएर नहुने भएकाले कारोबार ठप्प छ ।

आईतबार केही समय सुचारु भएको जयपृथ्बी राजमार्ग पुनह हिमपात भएपछि पुर्ण रुपमा अबरुद्ध भएको बस ब्यावसयीहरुको भनाई छ । हिमपातले जयपृथ्वी राजमार्ग खोड्पे बझाङ सडक खण्ड समेत बन्द भएपछि दैनिक उपभोग्य बस्तुहरु आपुर्ती हुन नसक्दा समस्या भएको छ । स्थानीय बिरेन्द्र सिंहले भन्नुभयो लामो समय सम्म यातायात बन्द भएपनि दैनिक उपभोग्यबस्तुहरु चामल , गहु, पिठो तरकारी , चिनी , दाल मसलाहरु लगायत आपुर्ती नहुदा बजारहरुमा अभाब भएको छ । उहाँले भन्नुभयो यता जिल्लाका लागी आपुर्ती हुने दैनिक उपभोग्यबस्तु बोकेका माल बाहक ट्रकहरु समेत राजमार्गका बिभिन्न ठाउँहरुमा अलपत्र भएका छन् ।

जिल्लाको तल्लो भाग सेती नदीको बगरमा रहेको चैनपुर देखी देउरा सम्मका बस्तीहरुमा खासै हिउँ नपरे पनी माथिल्लो भेगका बस्तीहरुमा भने अहिले पनि हिमपात भएकाले स्थानीयहहरु बाहिर निस्कन नपाउदा दैनिक कामकाजहरु समेत प्रभावित भएको छ ।

बाक्लो हिमपातका कारण लेकाली भेगमा गाई, भैसि, भेडा, बाख्राहरु एकसाता देखि बाहिर निस्कन नपाउदाँ समस्या भएको पशुपालकहरुले बताएका छन् । बाक्लो हिमपातका कारण जिल्लाको बातालेख र केदारमा रहेको टेलिफोनको टावरमा सोलार समेत चार्ज नभएपछि जिल्लाको सञ्चार सेवा समेत अबरुद्ध भएको छ । एनसिलबाट सामान्य रुपमा टेलिफोन सेवा भएपनि नेपाल टेलिकमको टेलिफोन तथा मोवाईल सेवा समेत बन्द भएको छ ।