दलित परिवारलाई टेन्ट वितरण

0
Shares

सुभेन्द्र दास लहान, सिरहा ।

डोजर लगाएर घर भत्काइएका विपन्न परिवारलाई टेन्ट वितरण गरिएको छ ।

अदालतको आदेशमा डोजर लगाएर घर भत्काएका सिरहा नगरपालिका–६ बसपिट्टाका ६ दलित (चमार) परिवारलाई आज अस्थायी टेन्टमा सारिएको छ।

आँपको बगैंचामा त्रिपालमुनि बस्दै आएका उनीहरूलाई टेन्टमा सारिएको हो। जिल्ला प्रशासन कार्यालय सिरहाको अगुवाइमा गृह मन्त्रालयले पठाएको टेन्ट आँपको बगैंचामा खडा गरेर हस्तान्तरण गरिएको प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारीले बताए। प्रजिअ अधिकारीले भने, “गृहमन्त्रालयले टेन्ट पठाइदिएपछि तयार गरेर हस्तान्तरण गरिएको हो।”

शितलहरका बेला अदालतको आदेशले घर भत्काएपछि बसपिट्टाका ७० वर्षीय रामजी महरा, समतोलिया महरा, रिझो महरा, फुलचो महरा, निलम महरा र कारी महरा बालबालिकासहित आँपको बगैंचामा त्रिपालमुनि बस्दै आएका थिए।

६ परिवारका जेष्ठ नागरिक र बालबालिकासहित २८ जना घर भत्काएपछि बिचल्लीमा परेको स्थानीय दिनेश यादवले बताए । जिल्ला अदालतको आदेशमा जमिन्दार परिवारका दामोदर प्रधानाङ्गले डोजर लगाएर ५ पुसमा डोजर लगाएर घर भत्काएका थिए।