दोस्रो राष्ट्रिय औद्योगिक व्यापार मेला माघ ९ देखि

0
Shares

यमलाल भुसाल, बुटवल ।

तिलोत्तमा उद्योग वाणिज्य संघले दोस्रो राष्ट्रिय औद्योगिक व्यापार मेला तथा कृषि एबम् पर्यटन प्रवद्र्धन महोत्सव–२०७६ को तयारी शुरु गरेको छ ।

आगामी माघ ९ देखि २० गते सम्म सञ्चालन हुने दोस्रो संस्करणको राष्ट्रिय औद्योगिक ब्यापार मेला तथा कृषि एबम् पर्यटन प्रवद्र्धन महोत्सवका लागि प्रारम्भिक तयारीका कामहरु शुरु भएको आयोजक संस्था तिलोत्तमा उद्योग वाणिज्य संघका अध्यक्ष गुणनिधि भण्डारी (माधव) ले जानकारी दिनुभयो ।

बिशेष गरी कृषि र पर्यटनलाई प्रवद्र्धन गर्ने गरी सञ्चालन गर्न लागिएको मेलाका लागि मुख्य प्रायोजन र सह प्रायोजन गर्ने संघ संस्थाहरुसंग समन्वय गर्ने तथा टिकट, गेट, ब्यानरलगायतका स्पोन्सरका लागि पनि विभिन्न संघ संस्थाहरुसंग छलफल तथा परामर्श भैरहेको अध्यक्ष भण्डारीले वताउनु भयो ।

तिलोत्तमा उद्योग बाणिज्य संघको आयोजनामा हुन लागेको मेलाको संरक्षक नेपाल उद्योग वाणिज्य महासंघ, काठमाडौ रहेको छ भने सह आयोजकमा नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नं. ५, तिलोत्तमा नगरपालिका, उद्योग ब्यापार संगठन तिलोत्तमा र तिलोत्तमा ब्यापार संघ रुपन्देही रहेका छन् ।

रुपन्देहीको मणिग्राम चोक देखि दक्षिण, सिद्धार्थ राजमार्गको पूर्व तिलोत्तमा नगरपालिका ५ मा दोस्रो मेला सञ्चालन गर्न लागिएको संघका वरिष्ठ उपाध्यक्ष ज्ञानेन्द्र कार्कीले जानकारी गराउनु भयो ।

तिलोत्तमामा रहेका तिलोत्तमा उद्योग वाणिज्य संघ, उद्योग ब्यापार संगठन र तिलोत्तमा ब्यापार संघले प्रत्येक वर्ष आलोपालो ब्यापार मेलाको आयोजना गर्ने सहमति अनुसार २०७३ मा पहिलो पटक मेलाको आयोजना गरेको तिलोत्तमा उद्योग वाणिज्य संघले यो पटक ‘दोस्रो राष्ट्रिय औद्योगिक ब्यापार मेला तथा कृषि एबम् पर्यटन प्रवद्र्धन महोत्सव–२०७६’ गर्न लागेको वाणिज्य उपाध्यक्ष हरिलाल पाण्डेले वताउनु भयो ।

संघका उद्योग उपाध्यक्ष कृष्ण प्रसाद शर्माको अध्यक्षतामा बसेको बैठकमा कोषाध्यक्ष सूरज पंगेनीले मेलाको मूख्य प्रायोजक र सह प्रायोजकको करिव करिव टुंगो लागि सकेको र टिकट तथा गेटको स्पोन्सरका लागि विभिन्न उद्योगी, ब्यवसायी र संघसंस्थाहरुसंग निरन्तर समन्वय र परामर्श भैरहेको जानकारी गराउनु भयो । सो अवसरमा संघका प्रेस सल्लाहकार खिमानन्द भट्टराईलाई स्वागत गरिएको थियो ।