बौद्ध परियति शिक्षाको लागि कामपाद्वारा २३ लाख सहयोग

0
Shares

न्युज अफ नेपाल, काठमाडौं । 

बुद्ध दर्शन र ज्ञान सम्बन्धी औपचारिक पढाई नेपाल बौद्ध परियति शिक्षाको लागि काठमाडौं महानगरपालिकाले २३ लाख ६५ हजार रुपैयाँ सहयोग गरेको छ ।

राजधानीको विश्वशान्ति विहारमा आयोजित एक समारोहकाबीच सो रकम हस्तान्तरण गरिएको हो । सो अवसरमा महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले अखिल नेपाल भिक्षुमहासंघका अध्यक्ष भिक्षु मैत्री महास्थविरलाई सो रकमको चेक हस्तान्तरण गर्नुभयो ।

सो समारोहमा परियति शिक्षाका केन्द्रीय परीक्षा नियन्त्रक भिक्षु बोधिज्ञानले गत बैशाखमा सम्पन्न दिक्षान्त समारोहमा प्रतिबद्धता व्यक्त गरे बमोजिम महानगरपालिकाले सो सहयोग उपलब्ध गराएको जानकारी दिनुभयो ।

२२ जिल्लाका १ सय १९ केन्द्र, विद्यालयमा सञ्चालन भइरहेको सो शिक्षामा वर्षेनी ५ हजार जनाले भगवान बुद्धको ज्ञान, दर्शन विविध पक्षका बारे अध्ययन गरिरहेका छन् । यो शिक्षाको शुरुआत २०१९ सालमा भएको थियो । यस कार्यमा सो सहयोगले शिक्षाको विस्तारमा टेवा पुर्‍याउने पनि अखिल महासंघका अध्यक्ष भिक्षु मैत्रीको भनाई रहेको छ ।

सो अवसरमा महानगरपालिकाका मेयर शाक्यले परियति शिक्षाले शान्ति स्थापना, आध्यात्मिक र नैतिकवान,समाज र राष्ट्रप्रति जिम्मेवार नागरिक उत्पादनमा पुर्‍याएको योगदानलाई कदर स्वरुप सहयोग प्रदान गरिएको बताउनुभयो ।

परियति शिक्षाले बुद्धधर्म संस्कृति संरक्षणमा महत्वपूर्ण भूमिका निर्वाह गरेको पनि मेयर शाक्यको भनाई रहेको छ । महानगरपालिकाले यस वर्ष धर्मकिर्ति विहारलाई ५ लाख रुपैयाँ बुद्ध विहार पुनःनिर्माण गर्न १ करोड रुपैयाँ र अन्तर्राष्ट्रिय बौद्ध ध्यान केन्द्रको धर्महल निर्माणको लागि ७० लाख रुपैयाँ प्रदान गरिसकेको छ ।