इगो बन्दै प्रदेश राजधानी

0
Shares

कृष्णउदास खनाल, हेटौंडा ।

नेपाल कम्यूनिष्ट पार्टीको केन्द्रीय सचिवालयले पार्टी प्रदेश नम्बर तीनलाई तीन नम्बर प्रदेशको स्थायी राजधानी हेटौंडा र नाम बाग्मती राख्नका लागि निर्देशन दिएको कुरा आयो तर यो कुरा मान्न प्रदेश नम्बर तीनका कतिपय सांसदहरु तयार छैनन् ।

सांसद राजेन्द्र पाँण्डेले आफूलाई यस बिषयमा कुनै जानकारी नभएको प्रतिकृया दिनुभयो । उहाँले प्रदेश सांसदहरु स्वतन्त्र रहेको र राजधानीका बिषयमा पार्टीले ह्वीप लगाउन नमिल्ने बताउनुभयो ।

त्यसो त नेकपा प्रदेश नम्बर तीनका प्रमुख सचेतक रामेश्वर फूँयालले पनि घुमाउरो भाषामा केन्द्रीय सचिवालयको निर्णय थाहा नभएको बताउनुहुन्छ । प्रदेश नम्बर तीनको नेपाल कम्यूनिष्ट पार्टीको बैठक पनि १८ देखि २० पुससम्म हेटौंडामा बसेको थियो । जहाँ ६६ जना सांसदहरुले मत राखे। मत बिभाजित छ ।

मुख्यतया नेकपा भित्रको माधव नेपाल समूहले राजधानीलाई मुख्य इगो बनाएको छ । २०७४ साल माघमा प्रदेश नम्बर तीनको अस्थायी मुकाम हेटौंडा तोकेपछि मुख्यमन्त्रीको दौडमा पार्टीकी हालकी प्रदेश नम्बर तीनकी अध्यक्ष अष्टलक्ष्मी शाक्य पनि हुनुहुन्थ्यो । उहाँले लगभग मुख्यमन्त्री पाउने आँकलन गरिएको थियो तर उहाँ नेपाल गुटको भएकै कारण अन्तिम समयमा आएर उहाँलाई मुख्यमन्त्री नबनाइएको नेकपाको नेताहरुकै बुझाइ छ । अनि गएको बर्ष भौतिक पूर्वाधार मन्त्री रहेका केशव स्थापितलाई पनि मुख्यमन्त्री डोरमणी पौडेलले मन्त्री पदबाट बर्खास्त गरेपछि अहिले शाक्य,स्थापित लगायतका टोली डोरमणी पौडेललाई असफल बनाउन लागेको बुझाइ नेकपामा नेताहरुको छ ।

प्रदेश तीनको राजधानीको मुख्य लफडा भनेकै इगो रहेको र ओली गुटले माधव गुटलाई सिध्याउने र माधव गुटले ओली गुटलाई सिध्याउने चक्करमा आफूहरु घुन जसरी पिसिएको प्रचण्ड पक्षधर नेकपाका नेताहरु अथवा पूर्व माओवादीको छ । पूर्व माओवादीका सांसदहरु भने मकवानपुर इत्तरका राजधानी हेटैंडा नभए हुनी भन्नेमा रहेपनि प्रचण्डले बोलेपछि अहिले उहाँको कुरा काट्ने पक्षमा छैनन् ।

सोमबार प्रदेश सभाको बैठक बसेपनि राजधानीका बिषयमा कार्यबिधि मात्रै पेश भएको छ । नेकपाको बैठक २२ गते मंगलबार पुनः बोलाइएका कारण सांसद बैठक प्रभावित हुने निश्चित छ । मुख्यमन्त्री डोरमणी पौडेल राजधानी र नामाकरणको कुरा बैठकमा टुंग्यांएर सदनमा लैजाने पक्षमा भएकाले विवाद बढ्ने देखिन्छ। प्रदेशको स्थायी राजधानीका लागि ७४ जनाको मत अवश्यक पर्छ । प्रदेश तीनमा १सय ९ जना सांसद छन् जसमध्ये नेकपाको सांसद संख्या नै ८० रहेको छ।