फोटो प्रतियोगिताको आवेदन खुला, विजेताले एक लाख पुरस्कार पाउने

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

फोटो जर्नालिस्ट क्लब, नेपालले फोटो प्रतियोगिताको ७ औं संस्करण नेपाल फोटो प्रतियोगिता २०७६ को घोषणा गरेको छ । क्लबले पुस २० गते आइतबार कमलादीस्थित होटल रोयल सिंघीमा एक कार्यक्रमको आयोजना गर्ने निर्णय गरेको हो ।

ग्लोबल आइएमई बैंक नेपाल तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले उक्त आयोजनाको घोषणा गरेका हुन । उनले आफूले खिचेको फोटोलाई फोटो प्रतियोगितामा समावेशका लागि अनलाइन इन्ट्री गरी प्रतियोगिताको शुरुवात गरेका थिए ।

विभिन्न सात विधामा प्रतिस्पर्धा गराइने प्रतियोगितामा भाग लिन चाहने प्रतियोगीले आईतबार बाटै फोटो दर्ता गराउन सक्नेछन् । क्लबको आधिकारिक वेभसाइटमा गएर दिइएको निर्देशनअनुसार फोटो दर्ता गर्न सकिने क्लबले जनाएको छ । प्रतियोगितामा व्यावसायिक र सौखिन सबैखाले फोटोग्राफर तथा फोटो पत्रकार सहभागी हुन पाउनेछन् ।

प्रतियोगितामा विदेशी नागरिक तथा विदेशमा खिचिएको फोटोले भने सहभागिता जनाउन पाउने छैनन् । तर, खेलकुद विधाको हकमा भने नेपाल बाहिर खिचिएको तस्बिर भने समावेश गराउन पाइने छ । उक्त फोटोमा नेपाली वा नेपाल झल्कने विषय भने कतै न कतै देखिएको हुनु पर्नेछ । आईतबारबाटै सुरु हुने दर्ता प्रक्रिया माघ १७ मध्यरात १२ बजे बन्द हुनेछ ।

कार्यक्रममा सबै अतिथिलाई फोटो पत्रकार क्लब नेपालकी महासचिव श्रुती श्रेष्ठले स्वागत गरेकी थिइन् । फोटो प्रतियोगिताको घोषणासँगै गत वर्षको फोटो प्रतियोगितामा समावेश फोटोहरूको संग्रह पुस्तक पनि लोकार्पण गरिएको थियो ।

कार्यक्रमका अतिथि ग्लोबल आइएमई बैंक तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकाल, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका उपकुलपति गोपाल चित्रकार, नेपाल पर्यटन बोर्डका निमित्त निर्देशक विमल कँडेल, शिखर इन्स्योरेन्स प्रालिका वरिष्ठ प्रवन्धक सुरज राजवाहक, अर्घाखाँची सिमेन्ट प्रालिका कामु महाप्रवन्धक रमेश थापा, मनराम ग्रुपका संरक्षक श्रीमती मनमाया र फोटो जर्नलिस्ट क्लब नेपालका अध्यक्ष विकास कार्की लगायतले फोटो पुस्तकको लोकार्पण गरेका थिए ।

अतिथिहरूको स्वागत गर्दै डिस मिडियाका उप–महाप्रवन्धक सञ्जय राजभण्डारीले फोटो जर्नलिस्ट क्लबले आयोजना गर्दै आएको फोटो प्रतियोगितामा सहकार्य गर्न पाउनु गर्वको विषय रहेको बताए ।

यसैगरी शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडका वरिष्ठ प्रवन्धक सुरज राजवाहकले ५ वर्षदेखि कम्पनीले फोटो प्रतियोगिता आयोजनामा फोटो जर्नलिस्ट क्लबसँग सहकार्य गरिरहेको बताए । त्यस्तै, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका उपकुलपति गोपाल चित्रकारले स्थापनाको छोटो समयमा नै क्लबले ठोस उपलब्धि हासिल गरेको उल्लेख गरे । चित्रकारले यो प्रतियोगिता फोटो विधाका लागि मदन पुरस्कार जत्तिकै भएको उल्लेख गर्दै फोटो पत्रकारका लागि यसमा विजयी हुनु मदन पुरस्कार जितेसरह नै भएको बताए ।

कार्यक्रमका अर्का वक्ता पर्यटन बोर्डका कामु निमित्त निर्देशक विमल कँडेलले क्लबको फोटो प्रतियोगिताजस्तो कार्यक्रममा पर्यटन बोर्ड जोडिन पाउँदा खुसी लागेको बताए । उनले यस्ता फोटो प्रतियोगिताले बोर्डलाई स्ट्राटेजिक टुरिज्म प्लेटफर्मका लागि सहयोग पुग्नेसमेत उल्लेख गरे । उनले वन्यजन्तु, पर्वतीय फोटो प्रदर्शनी तथा थाई र चिनियाँ फोटोग्राफरका फोटो प्रदर्शनी आयोजना गर्दै आएको जानकारी दिए ।

अर्घाखाँची सिमेन्ट प्रालिका कामु महाप्रवन्धक रमेश थापाले केही वर्षयता कम्पनीले क्लबलाई प्रतियोगिता आयोजना र प्रवद्र्धनमा सघाउँदै आएको र क्लबका यस्ता अन्य कार्यक्रममा सहकार्य जारी राख्ने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा आइएमई समूहका प्रवन्ध निर्देशक तथा सह–संस्थापक हेमराज ढकाल, डिस मिडिया नेटवर्कका प्रमुख कार्यकारी अधिकृत सुदीप आचार्य र डिस मिडिया नेटवर्कका माकेर्टिङ उप–महाप्रवन्धक सञ्जय राजभण्डारीलगायत वरिष्ठ व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।