गाँजा नियन्त्रणमा लिन हवाइफायर

0
Shares

न्युज अफ नेपाल, हेटौंडा ।

हेटौंडा–१५, रातोमाटेबाट प्रहरीले लागुऔषध गाँजा ५३ केजीसहित चार जनालाई नियन्त्रणमा लिएको छ ।

हेटौंडाबाट भारततर्फ निकासी गर्न लागिएको गाँजा नियन्त्रणमा लिने क्रममा प्रहरीले चार राउण्ड हवाइफायर गरेको थियो । भारतीय कार र ट्रकमार्फत् निकासी गर्न लागिएको गाँजासहित चार जना पक्राउ गरेर मुद्धा चलाउने तयारी गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक यज्ञप्रसाद भट्टराईले बताउनुभयो ।

रातोमाटे र चुरियामाईबीच जंगलबाट चार राउण्ड हवाइफायर गर्दै डीएल–३ सीएक्यु ४१७२ नम्बर कार नियन्त्रणमा लिइएको हो । ३२ केजी गाँजासहित भारत मोतीहारी चम्पारण कुडुवा चैनपुर बारबा बस्ने ३७ वर्षीय दिलीपकुमार सिंह, मोतीहारी रघुनाथपुर बस्ने १८ वर्षीय उज्ज्वलकुमार ठाकुर र रौतहट यमुनामाई गाउँपालिका–४ बस्ने २४ वर्षीय विकास सिंहलाई प्रहरीले पक्राउ गरेको हो ।

रातोमाटेबाट नै २१ केजी गाँजासहित एक जनालाई पक्राउ गरिएको छ । मनहरीबाट बीरगञ्जतर्फ जाँदै गरेको ना. ५ ख ७२६८ नम्बर ट्रकमा राखेर निकासी गर्न लागिएको गाँजासहित चालक मकवानपुरको राक्सिराङ गाउँपालिका–५ बस्ने ३५ वर्षीय राजकुमार मोक्तानलाई प्रहरीले पक्राउ गरेको हो ।