गण्डकी प्रदेशमा जडिबुटी प्रशोधन केन्द्र बनाउँछौं: मन्त्री पुन

0
Shares

प्रताप बानियाँ, म्याग्दी ।

गण्डकी प्रदेशका सामाजिक विकास मन्त्री नरदेवी पुनले प्रदेशभित्र रहेको जडिबुटीको उपयोग गर्नेगरी प्रशोधन केन्द्र बनाउन लागिएको बताएकी छिन् । शनिबार म्याग्दी उद्योग वाणिज्य संघको २६औं वार्षिक साधारण सभाको बेनीमा उद्घाटन गर्दै उनले प्रदेश सरकारमार्फत जडिबुटी प्रशोधन केन्द्र निर्माणको तयारी थालिएको जानकारी दिएकी हुन् ।

मन्त्री पुनले गण्डकी प्रदेशका सबै जिल्लामा पर्याप्त जडिबुटीको भण्डार रहेको बताउँदै जडिबुटीको सङ्कलन, प्रशोधन र बजारीकरणका लागि जडिबुटी प्रशोधन केन्द्र बनाइने बताइन् । उनले जडिबुटी प्रशोधन केन्द्र स्थापना गर्न जग्गाको खोजी गरिए पनि जग्गा पाउन समस्या भैरहेको बताउँदै प्रशोधन केन्द्र पिपिए मोडेलमा निर्माण गरिने हुँदा निजी क्षेत्रसँग सहकार्य गरेर अगाडि बढ्ने बताएकी छिन् ।

आयातलाई प्रतिस्थापन गर्न नसके व्यक्ति धनी बन्न नसक्ने बताउँदै मन्त्री पुनले उत्पादनको विविधिकरण गरी अर्गानिक उत्पादनको प्रयोगमा जोड दिन आवश्यक रहेको बताइन् । उनले पछिल्लो समय गाउँघरमा समेत बजारको खाना तथा खाजाको प्रयोग बढ्दै गैरहेको भन्दै स्थानीय उत्पादनको प्रोत्साहन र बजारीकरण गर्नुपर्नेमा जोड दिइन् । उद्योग वाणिज्य संघले विभिन्न किसिमका सिपमूलक तालिमका साथै कृषि उपजको उत्पादन र प्रयोगमा जोड दिन पहल गर्नुपर्ने उनको भनाइ छ ।

सामाजिक विकास मन्त्री पुनले आफ्नो मन्त्रालय शिक्षासम्बन्धी नीति र ऐन बनाउन लागिपरेको बताउँदै युवा पलायन रोक्न प्रदेशभित्र गण्डकी विश्वविद्यालय स्थापनाको तयारी गरिएको जानकारी दिइन् । उनले गण्डकी प्रदेशभित्र कक्षा १ मा भर्नादर ७० हजार रहेपनि स्नातक तह चौथो वर्षमा पुग्दा २७ हजारमा झरेको भन्दै बिचमा रहेको विद्यार्थीको खोजी गरेर उनीहरुलाई सिपमूलक रोजगार दिन स्याङ्जामा गण्डकी प्राविधिक प्रतिष्ठान बनाउन लागिएको बताएकी थिइन् । स्थानीय स्रोतसाधनलाई एकीकृत गर्न र बसाइसराइलाई रोक्न नमुना आवासीय विद्यालय स्थापनाको अवधारणा अगाडि सारिएको मन्त्री पुनले बताइन् ।

गण्डकी प्रदेशको ३६ ओटै निर्वाचन क्षेत्रमा नैतिक शिक्षा पढाउने उद्देश्यसहित आदर्श विद्यालयको परिकल्पना गरिएको बताउँदै मन्त्री पुनले खेलकुद र सङ्गीतलाई पनि प्राथमिकता दिइएको बताएकी छिन् । उनले म्याग्दी जिल्लामा २ ओटा नमुना आवासीय, २ ओटा विशेष र २ ओटा आर्दश विद्यालय स्थापना गरिने बताउँदै सुरुङमार्ग बनाउन आवश्यक पाठ्यक्रम निर्माण र जनशक्ति उत्पादनका लागि छलफल चलाइएको बताइन् । नैतिकवान् र राष्ट्रलाई योगदान दिन सक्ने नागरिक उत्पादन गर्न संस्कारयुक्त शिक्षा दिन आवश्यक पहल थालिएको उनले बताएकी छिन् ।

कार्यक्रममा पूर्व सांसदद्वय नवराज शर्मा र रेशमबहादुर बानियाँले देश विकासमा निजी क्षेत्रको पनि योगदान रहेको चर्चा गरेका थिए । गण्डकी प्रदेशका सदस्य विनोद केसीले उद्योगी व्यवसायीले नीतिनियम अनुसार आफ्नो पेशा व्यवसाय सञ्चालन गर्नुपर्ने र राज्यलाई कर तिनुपर्ने बताए । धौलागिरी गाउँपालिकाका अध्यक्ष थमसरा पुन र म्याग्दीका प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले निजी क्षेत्रसँग आवश्यक समन्वय गरेर अगाडि बढ्ने बताएका छन् ।

साधारणसभाको अवसरमा हालै सम्पन्न १३औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)मा पदक विजेताहरु महिला भलिबलका कप्तान अरुणा शाही, कमला पुन, उसु खेलाडी विन्दु पुनमगर र भारोत्तोलनकी तारादेवी पुनलाई नगद सातहजार रुपैयाँका दरले दोसल्ला ओढाएर प्रशंसापत्रसहित सम्मान गरिएको थियो । यसैगरी गत शैक्षिक सत्रमा उत्कृष्ट अङ्क ल्याउने व्यवस्थापन सङ्कायतर्फ म्याग्दी बहुमुखी क्याम्पसका हरिप्रसाद उपाध्याय र निता शर्मालाई पनि नगद पाँचहजार रुपैयाँ, दोसल्ला र प्रशंसापत्रसहित उद्योग वाणिज्य अवार्ड–२०७६ बाट सम्मान गरिएको छ ।