होमस्टे समृद्धिको आधारः मन्त्री अर्याल

0
Shares

अमृत अर्याल, स्याङ्जा ।

जिल्लाको एलादीमा महोत्सव शुरु भएको छ । भुमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले मुलुकको विकासका लागि होमस्टे संचालन गर्दै समृद्धि तर्फ उन्मुख हुनुपर्नेमा जोड दिनुभएको छ ।

गण्डकी प्रदेश स्तरीय प्रथम क्यानोनीङ, सुन्तला तथा साँस्कृतिक महोत्सव २०७६ को उद्घाटन गर्दै मन्त्री अर्यालले होमस्टे मार्फत मुलुकलाई समृद्धिको आधार तर्फ लैजानुपर्ने बताउनुभएको छ ।

स्थानीय उत्पादनलाई जोड दिँदै होमस्टे संचालन गरेर अगाडी बढ्न सकियो भने सरकारले ल्याएको समृद्ध नेपाल, सुखी नेपालीको नारा तबमात्र सार्थक हुने मन्त्री अर्यालको भनाई थियो ।

मुलुकलाई अब आर्थिक समृद्धिसगँ जोड्नु आवश्यक छ मन्त्री अर्यालले भन्नुभयो, ‘माटो सुहाउदो खेती र होमस्टेलाई प्रथामिकता दिनुपर्छ ।’ सरकारले घोषणा गरेको भ्रमण बर्ष २०२० लाई सफल बनाउनका लागि पनि स्थानीय उत्पादन र होमस्टेलाई प्रथामिकतामा राख्नुपर्नेमा मन्त्री अर्यालले जोड दिनुभयो ।

यो महोत्सव जिल्लामा नयाँ प्रकृतिको महोत्सव हो । सरकार नागरिकको शिक्षा, स्वास्थ्यलाई प्रथामिकतामा राखेर काम गरिरहेको छ मन्त्री अर्यालले भन्नुभयो, ‘नागरिकले पनि मुलुकलाई समृद्ध बनाउन सहयोग गर्नुपर्छ ।’ जग्गाजमिन बाँझो राखेर सरकारलाई सहयोग हुदैन भन्दै मन्त्री अर्यालले माटो सुहाउदो खेती लगाउन सबैलाई आग्रह गर्नुभयो ।

परनिर्भरताले मुलुकका जनतालाई गाँजेको उल्लेख गर्दै मन्त्री अर्यालले जसले बाँझो जमिन राख्छ, उसलाई सरकारले निगरानी राख्ने धारणा व्यक्त गर्नुभयो । सुन्तलाबारी होमस्टेले परिचित रहेको वालिङ ४ एलादी खाल्डे गाँउले होमस्टे मार्फत गाँउको परिचय दिन सफल भएको प्रति मन्त्री अर्यालले प्रशंसा गर्नुभयो ।

होमस्टेको बाँकी पुर्वाधार बनाउन आवश्यक रहेमा सरकारले सहयोग गर्ने प्रतिवद्धता मन्त्री अर्यालको छ । क्यानोनीङ खेललाई महत्व दिएर आयोजना गरिएको महोत्सवले बाह्रय र आन्तरिक पर्यटक भित्राउन सहज हुने भन्दै मन्त्री अर्यालले खेलको अन्य पुर्वाधार बनाउन सरकार तयार रहेको बताउनुभयो ।

यो महोत्सवको आकर्षणको रुपमा क्यानोनिङ खेल रहेको छ । कार्यक्रममा गण्डकी प्रदेश विद्यायन समितिका सभापति मोहन रेग्मी, वालिङ नगरपालिकाका प्रमुख दिलिपप्रताप खाँण, प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङ्, नेकपाका जिल्ला अध्यक्ष सुर्यप्रसाद गैह्रे, वडा नम्वर ४ का वडा अध्यक्ष रनध्वज गुरुङ्, नेपाली काँग्रेसका वडा सभापति हरीकिसन गुरुङ, वालिङ उद्योग वाणिज्य संघका अध्यक्ष शोभाकान्त पौडेल, स्याङ्जा क्यानोनीङ तथा पर्यटन प्रवद्र्धन समितिका संयोजक मोहन खनाल लगायतका बक्ताहरुले भ्रमण बर्ष २०२० लाई लक्षित गरेर आयोजना गरिएको यो महोत्सवले एलादी गाँउ मात्रै नभएर वालिङ नगरपालिकालाई चिनाउने काममा सघाउ पुग्ने बताएका थिए ।

सुन्तलाबारी होमस्टेका अध्यक्ष डिलबिक्रम गुरुङ्को सभापतित्वमा सम्पन्न भएको कार्यक्रमको स्वागत खेमराज गुरुङ र संचालन यामकान्त खनालले गर्नुभएको थियो । महोत्सव यही २१ गते सम्म संचालन हुनेछ ।