३८ घण्टादेखि अवरुद्ध भीमदत्त राजमार्ग खुल्यो

0
Shares

राम धामी, डेल्धुरा ।

भारी हिमपातका कारण बिहीबार साँझदेखि अवरुद्ध भएको सुदूरपश्चिम प्रदेशका सात पहाडी जिल्ला जोड्ने मुख्य सडक खण्ड भीमदत्त राजमार्ग शनिबार अपरान्हदेखि सञ्चालनमा आएको छ । अवरुद्ध भएको करिब ३८ घण्टापछि भीमदत्त राजमार्ग सञ्चालनमा आएको हो ।

बिहीबार साँझदेखि परेको बाक्लो हिमपातका कारण राजमार्ग अवरुद्ध हुँदा यहाँका सात पहाडी जिल्ला डडेल्धुरा, बैतडी, बझाङ, दार्चुला, अछाम, बाजुरा र डोटीको यातायात सेवा पूर्णरूपमा ठप्प भएको थियो भने सयौँ यात्रु अलपत्रमा परेका थिए । सडक डिभिजन कार्यालय कुलपाते डोटी, अमरगढी नगरपालिका, आलिताल, अजयमेरु र गन्यापधुरा गाउँपालिकाको डोजर, नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको सहयोगमा राजमार्गका सडकमा रहेको हिउँ हटाइएपछि शनिबार अपरान्हदेखि एकतर्फी रूपमा यातायात सेवा सञ्चालनमा आएको डडेल्धुराका प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलले जानकारी दिए ।

हिमपातका कारण भिमदत्त राजमार्ग अन्तर्गत डोटीको गैरा, डडेल्धुराको हगुल्टे, साहुखर्क क्षेत्रमा बिहीबार रातीदेखि अलपत्रमा परेका सवारीसाधन अहिले राजमार्ग सञ्चालन भएपछि आ–आफ्नो गन्तव्यतिर लागिरहेको जिल्ला प्रशासन कार्यालय डडेल्धुराले जनाएको छ । भीमदत्त राजमार्गको मेलखर्क, हगुल्डे, साहुँखर्क बजारलगायत डोटीको गैरा क्षेत्रमा करीब तीन फिट बाक्लो हिउँ जमेका कारण राजमार्ग अवरुद्ध भएको हो ।

हिमपातका कारण अवरुद्ध भएको डडेल्धुरा–बैतडी जोड्ने दशरथचन्द राजमार्ग पनि सञ्चालन भएको छ । डडेल्धुराको अनराखोल बजार र बैतडीको खोडपेबजार क्षेत्रमा तीन फिटसम्म हिउँ रहेको र जिल्ला प्रशासन कार्यालय डडेल्धुराको पहलमा ३ वटा डोजर लगाएर बाटो खुलाइएको हो ।

टेलिफोन र इन्टरनेट सेवा अझैं अवरुद्ध

हिमपातले क्षति गरेका कारण सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा नेपाल टेलिकमको टेलिफोन, मोबाईल तथा एडिएसएल इन्टरनेट सेवा अवरुद्ध भएको छ ।

हिमपातका कारण टेलिकमका सम्पूर्ण फोन सेवा अवरुद्ध भएपछि यहाँका पहाडी जिल्ला शुक्रबारदेखि सञ्चार सम्पर्कविहीन हुन पुगेका छन् । बिहीबार दिउँसोदेखि परेको बाक्लो हिमपातका कारण नेपाल टेलिकमको डडेल्धुरास्थित काफली टावरमा खराबी आउँदा यहाँका पहाडी जिल्ला डडेल्धुरा, अछाम, बझाङ, बाजुरा र डोटीमा फोन सेवा तथा इन्टरनेट सेवा अवरुद्ध भएको नेपाल टेलिकम डडेल्धुरा कार्यालयले जनाएको छ ।

यस्तै डडेल्धुरासहित सुदूरपश्चिमका पहाडी जिल्लामा शुक्रबार र शनिबार विद्युत् सेवा समेत अवरुद्ध थियो । हिमपातका कारण विद्युत् सेवा अरुवद्ध भएको हो । अवरुद्ध रहेको विद्युत् सेवा शनिबार अपरान्हदेखी सुचारु भएको छ ।